दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा
2020/10/16, 3:28
 
corona

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको दुई वटामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधज्ञा जारी गरेको हो।

नगरपालिकाको वडा नम्बर ४ र ५ बाट कन्ट्रर्याक्ट ट्रेसिङ गरिएका ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल प्रयोगशाला पठाइएकोमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेत्रज्ञा जारी गरेको हो।

महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ।

नगरपालिकाले विहिबार राती ८ बजेदेखि अर्को सूचना नभएसम्मको लागि निशेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले जानकारी दिए। 

उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री २०७७ साल असोज ३० गते विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला रहेनछन्।

यो अवधिमा आवत जावतमा पनि पूर्ण रोक लगाइएको छ। निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसललगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु २ कात्तिक देखि बन्द गरिएको छ। 

विहिबार कोरोना पुष्टि भएका मध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाकि मोहतीका स्थानीय रहेका छन्। 

बिहीबार ३८ जना कोरोना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ। संक्रमितमध्ये ९८ जनाले कोरोना जितेका छन्।