सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ८७५७ पुग्यो
2020/10/16, 3:49
 
corona

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप ५६ जना कोरोना संक्रमित बढेका हुन् । सेतीमा ४७ जना र डडेल्धुरामा ९ जना कोरोना संक्रमित थपिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सेती प्रादेशिक अस्पतालमा पछिल्लो एक सय ८० जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन÷तीन जना, वडा नम्बर ४ र ८ का दुई/दुई जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ।उता कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ। 

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयका दुई जना, अमरगढी नगरपालिकाका तीन जना र दार्चुलाको महाकाली नगरपालिकाका तीन जना रहेको भुसालले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पुग्यो ८ हजार ७ सय ५७ पुगेको  छ । सुदुरपश्चिममा २४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।