सुदूरपश्चिमको बजेट अधिवेशन आजदेखि, स्वास्थ्य जाँच नगराउनेलाई प्रवेश निषेध 
2020/05/26, 7:00
 
cabinate

सुदूरपश्चिम प्रदेशसभाको छैटौँ बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर दिउँसो २ बजे यो अधिवेशन बस्न लागेको हो ।  कोभिड–१९को सम्भावित सङ्क्रमणवाट जोगिन प्रदेशसभा कक्षमा साविकमा राखिएका टेबुल कुर्सीलाई दूरी कायम हुने गरी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । 

‘‘सामाजिक दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा बैठक कक्ष केही साँघुरो देखिएको छ, तर अन्य ठाउँमा विकल्प देखिएन”, सचिव धामीले भने, “सोही कक्षमा कम्तिमा पनि एक मिटर दूरी कायम गरेर प्रदेश सभा सदस्यलाई बस्ने कुर्सी टेबल राखेर सिटको व्यवस्थापन गरेका छौँ ।” बैठक कक्षमा प्रवेश गर्नेले सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्नेछ। यसका लागि यी सामाग्रीको व्यवस्थापन प्रदेश सभा सचिवालयले गरेको छ । नेपालको संविधान बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले छैटौँ बर्खे अधिवेशन जेठ १३ गते दिउँसो २ बजेका लागि केही दिन अघि नै आह्वान गरेकी थिईन् । 

अधिवेशनको पहिलो दिन सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयवाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्रको व्यहोरा बारे सदनलाई जानकारी गराउनु हुने कार्यसूची छ । यस्तै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र साविकको राष्ट्रिय जनता पार्टी (हालको राष्ट्रिय समाजवादी पार्टी) का एक÷एक जना नेताले अधिवेशनको सफलताको शुभकामनाका साथै समसामयिक विषयमा मन्तव्य राख्नेछन् । बजेट अधिवेशनका रुपमा लिइने यो अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रि बजेट पेश गर्नु हुने कार्यसूची समेत रहेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन राजनैतिक दलका ५३ जना सदस्यहरु रहेका छन्  

स्वास्थ्य जाँच नगराउनेलाई प्रवेश निषेध 
कोभिड–१९को संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा प्रवेश गर्ने अनुमति दिइएको छैन । अधिवेशनको तयारीको क्रममा प्रदेश सभा सचिवालयको पहलमा प्रदेश सरकार मन्त्रि परिषद्का सदस्य, प्रदेश सभाका सदस्यहरु, मर्यादापालक, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सञ्चारकर्मी लगायत २९४ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिसकिएको छ । ‘‘नमूना जाँच गर्ने सबैको नमूना ‘नेगेटिभ‘ आएको छ, सचिव धामीले भने, “नमूना परीक्षण नगरेकालाई बैठकमा प्रवेश गर्न दिइने छैन ।”  रासस