धनगढीमा दुई सातादेखि उद्धारको पर्खाईमा मुगुको एक परिवार
2020/05/26, 10:26
 
ALAPATRA

कर्णाली प्रदेश अन्र्तगत पर्ने मुगुको खत्याड गाउँपालिकाका दीपक परियार पत्नी र चार महिनाको सन्तान सहित १३ दिनदेखि धनगढीमा अलपत्र परेका छन् । उनीसंगै भारतबाट सबै घर पुगिसके । तर उनी भने धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसिरहेका छन् । सबैको उद्धार भयो, मेरो किन भएन ?

परियारले दुखेसो गर्दै भने, कर्णाली प्रदेशका मुख्यमन्त्री र खत्याड गाउँपालिकाका अध्यक्षलाई पनि पटक पटक आग्रह गरिसके । तर उद्धारका लागि कसैले वास्ता गरेनन ।
उनले गाउँपालिकाका अध्यक्षले अचेल फोन पनि उठाउन छोडेको गुनासो गरे । भारतको मथुरामा काम गर्दै आएका दीपक लकडाउनपछि कामबाट निकालिए । भन्छन, सेटले कामबाट निकालिदिएपछि बेखर्ची भए ।  त्यहाँ बस्न सक्ने अवस्था रहेन । मुथराबाट दुईदिनमा भारतको पलिया पुगेका परियारले त्यहाँ १३ दिन क्वारेन्टाईनमा बिताए ।  पलियाबाट १३ दिनमा उद्धार भएका परियार १३ दिनदेखि नै धनगढीमा क्वारेन्टाईनमा छन् ।

उनको गाउँपालिका बाजुरासँग जोडिएको छ । उनलाई घर जान बाजुराको बाटो भएर छोटो र सहज हुन्छ । तर बाजुराको गाउँपालिकालाई भने फरक जिल्लाको भन्दै उनलाई लैजान मानेन । कर्णाली राजमार्ग भएर जादा निकै लामो र कष्टकर यात्रा हुन्छ, परियारले भने, यहाँबाट आफ्ना नागरिक लगेर गएको बाजुराको गाउँपालिकाले मलाई भने फरक जिल्लाको भनेर लैजान मानेन । उनले छिटोभन्दा छिटो उद्धार गरिदिन कर्णाली प्रदेश सरकारसँग आग्रह गरेका छन् ।