नेपाली भलिबलकी भविष्य कञ्चनपुरकी पुनम
2020/10/27, 1:15
 
volleyball

यतिबेला नेपाली महिला भलिबलमा चर्चामा रहेको नाम हो, पुनम चन्द । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी पुनमले पहिलो पटक सन् २०१९ मा राष्ट्रिय टोलीका लागि स्थान बनाउन सफल भइन् । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले स्वर्ण जित्दा उनी महत्वपूर्ण सदस्य थिइन् । पुनम हाल महिला राष्ट्रिय भलिबल टोलीका लागि महत्वपूर्ण खेलाडीका रुपमा छिन् ।

प्रदेश ५ बाट आठौं राष्ट्रिय खेलकुदमा कप्तानको भूमिका निभाएकी पुनमले आफ्नो टोलीलाई जित दिलाउन त सकिनन् । तर, समर्थकको मन भने जित्न सफल भइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले नेपाल पुलिस क्लबको मन जित्यो । करिब दुई महिना पहिले उनी नेपाल पुलिस क्लबमा अबद्ध भइन् । त्यसको केही समयपछि उनको नाम नेपाली राष्ट्रिय महिला भलिबलको प्रारम्भिक छनोटमा प¥यो । नेपाल भलिबल संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २५ खेलाडीलाई प्रारम्भिक छनोटका लागि राखेको थियो । त्यसपछि उनले भलिबलमा अन्तिम १४ मा स्थान बनाउन सफल भइन् ।

नेपालले घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भलिबल अन्तर्गत दोस्रो हुँदा उनी पनि टोलीका लागि मुख्य खेलाडीका रुपमा थिइन् । उनले टिमका लागि केही खेलमा स्थान बनाउन सफल भइन् । उनी संलग्न भएको खेलमा आफूले खेलेको समयसम्म उत्कृष्ट प्रदर्शन गर्न सफल पनि भइन् । उनको त्यहि प्रदर्शनले अहिले राष्ट्रिय टोलीले उनलाई महत्वपूर्ण सदस्यका रुपमा मानेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा जन्मिएकी पुनम नेपालमा हुने डोमेस्टिक लिगहरुमा कहिले प्रदेश त कहिले फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट देखिने पहिलो अनुहार हो । पुनम सन् २०१७ मा महेन्द्रनगरबाट बुटवल भलिबल खेल्नका लागि गइन्, त्यो बेलादेखि नै उनको जीवनले अर्को मोड लियो । खेल जीवनमा प्रवेश पाउने उनको मोडले अन्य कुनै कुरा भने देख्न सकेन । खेलतर्फ लाग्ने मौका मिल्यो पुनमलाई ।
पुनमलाई एभरेष्ट स्कुलका प्रशिक्षक अर्जुन घिमिरेले भलिबलमा लाग्न प्रेरणा दिएका हुन् ।

स्कुल लेभलको भलिबलबाट उत्कृष्ट ठहरिएकी पुनमले चितवन टाइगर्स, पोखरा लगायत ठूला क्लबबाट पनि भलिबल खेल्ने अवसर पाइन् । डोमेस्टिक टोलीबाटै उनले नेपाल पुलिस क्लबमा स्थान बनाउन सफल भइन् । पुनम हाल पुलिस क्लबमा जागिरे छिन् । पुनमले खेलेका सबै खेलमा उनको उत्कृष्ट खेल नै देख्न सकिन्थ्यो । पुनमले हालसम्म ६० भन्दा धेरै डोमेस्टिक खेल खेलिसकेकी छन् । नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेपछि हाल पुनमलाई धरै कुराको जिम्मेवारी रहेको अनुभव भएको छ । “पहिले प्रदेशस्तरमा खेल्ने गर्थें । त्यसमा आफूले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्न सकें । त्यसपछि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोट हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सकें,” उनले भनिन्, “विभागीय टोलीले पनि मलाई खेल्नका लागि स्थान दियो । खेल पहिले जस्तो हुने छैन, धेरै जिम्मेवारी थपिएको छ । खेल प्रदर्शनदेखि लिएर धेरै कुरामा ।”

पुनमलाई भलिबलमा अर्को खुड्किलो मिलेको छ । नेपाल पुलिस क्लबमा आबद्ध भएपछि पुनमलाई भलिबल खेलमा केही राहत मिलेको छ । त्यसो त नेपाली महिला भलिबलमा विभागीय टोलीभन्दा अन्यमा कुनै पनि टोलीले दैनिक प्रशिक्षण गरिहेका हुँदैनन् । “विभागीय टोलीभन्दा बाहिर रहँदा त्यति तयारी हुँदैनथ्यो । केही प्राविधिक कुरा पनि सिक्ने मौका कमै पाउँथें । अहिले फरक छ, धेरै कुरा सिक्ने मौका पाएकी छु । यसले नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा पनि धेरै फाइदा पुगेको छ,” पुनमले भनिन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल विभागीय टोलीले पनि प्रशिक्षण गरिरहेका छैनन् ।

भलिबल लगायत धेरै खेलका खेलाडीहरु अहिले सेल्फ प्रशिक्षण गरिरहेका छन् । सेल्फ प्रशिक्षणले नै अहिले खेलाडीको दैनिकी बितिरहेको छ । यो माहोल चाँडै सकिएर मैदानमा फर्कने खेलाडीहरुको चाहना छ । त्यस्तै पुनमको चाहना पनि चाँडै मैदानमा पुगेर खेल्ने छ । “कोरोनाले गर्दा खेलाडीको दैनिकी धेरै परिवर्तन भएको छ । पहिले मैदानमा रमाउँथ्यौं अहिले घरमै बसेर समय बिताउनुपरेको छ । प्रशिक्षण पनि हुन सकेको छैन । सेल्फ प्रशिक्षणले हामीलाई पुग्ने अवस्था छैन । यो अवस्था सामान्य भएर छिटै मैदान फर्कने अपेक्षा छ । खेल, खेलाडी र मैदानलाई धेरै सम्झिएको छु,” पुनमले अहिलेको अवस्थाबारे भनिन् ।

पुनमलाई भलिबलमा खेल्न परिवारमा धेरै सहयोग छ । परिवारको सहयोगले नै भलिबलको यात्रा सहज भएको उनको बुझाइ छ । “परिवारको हरेक कुरामा सहयोग छ । खेलमा जित निकाल्दै मेडल ल्याउने हो भने परिवारमा बेग्लै माहोल बन्छ । परिवारको सहयोगविना कुनै पनि काममा सफलता मिल्न सहज हुँदैन । मेरो सफलताको पछि परिवारको ठूलो हात छ,” उनले भनिन् ।

खेलाडीहरुले मेडल लगाएको देख्दा पुनमलाई आफूले पनि मेडल लगाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अरुले लगाएको गोल्ड मेडल नै पुनमको भलिबल यात्राको सुरुवात थियो । त्यसैले नै उनलाई भलिबलमा लाग्न थप प्रेरणा मिल्यो । पुनमले भनिन्, “भलिबलमा कसैले जितेर मेडल लगाएको देख्दा रमाइलो लाग्थ्यो । अनि मलाई पनि भलिबल खेलेर धेरै नाम कमाउने सोच आयो । अब केही हदसम्म सपना पूरा हुन थालेको छ सागमा नेपाललाई स्वर्ण जिताउनु मेरा लागि एक मुख्य लक्ष्य छ,” पुनमले भनिन् ।