फेरि पनि एउटा क्रान्तिको आवश्यकता छ 
2020/10/31, 12:12
 
saurav joshi

नेपाली राजनितिमा थुप्रै परिवर्तनहरु भए । धेरै कम  समयमा थुप्रै ठुला ठुला परिवर्तनहरु भए । चाहे त्यो २००७ सालको राणा शासन विरुद्धको क्रान्ति होस् या २०६२, २०६३ को शाही शासन विरुद्धको  क्रान्ति । नेपाली जनताले आफ्नो रगत बगाएर भएपनि देशमा परिवर्तन ल्याउनका निम्ति साथ दिए । 

पटक पटक  नेपाली जनताले  एउटा परिवर्तनको सपना देखेर नेताहरुमाथि भरोसा गरे तर त्यो सपना सपनामै सिमित भयो । परिवर्तनका सपना देखाएर नेताहरुले आफ्ना स्वार्थमात्र पुरा गरे । जुन वर्गका लागि क्रान्ति गरिएको थियो ती  वर्ग भने डमरुको तालमा नाच्ने मदारी मात्रै   भए । अझै  उनीहरुका हातमा परेका ठेलाहरु निको भएका  छैनन्, अझै उनीहरुको आखावाट अाँसु बगिनै रहेको छ । 

अहिले पनि कर्णालीका जनताले चामल नपाएर भोकभोकै बसिरहेका छन् ।  सुदुरपश्चिमका जनता सिटामोल नपाएर मरिराखेका छन् । कन्चनपुरका जनताले आफ्नै देशमा जान कर तिर्नु परिराखेको छ । रौतहटक जनता जिउँदै इट्टा भट्टीमा जलिराखेका छन् । बाजुराकी चेलीहरु छाउगोठमै मरिरहेकी छन । भक्तपुरका सडकमा दिन दहाडै बलात्कार हुदैँछ । निर्मला बहिनीले अझै न्याय पाएकी छैनन । देशको लागि बोलेको एउटा डाक्टर आज पटक पटक अस्पतालको बेडमा जानु परिरहेको छ ।

अधिकारी दम्पतीले अझै न्याय पाएनन् । सरकारले जनताका लागि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हो  तर आज जनता सरकारवाट नै त्रसित छन् । त्यसैले फेरि एक पटक अझै एउटा क्रान्तिको आवश्यकता छ देशमा । तर त्यो क्रान्ति सडक र हतियारको भरमा आउनु हुदैन । अबको क्रान्ति भनेको बैचारिक र व्यवहारिक हुनु पर्दछ ।

अबको क्रान्तिले सबै जात, धर्म, संस्कृति वर्ग आदिलाई समेट्नु पर्दछ । अबको क्रान्ति कुनै एउटा मिठो सपना जसरी हराएर नजाओस् । फेरी अर्को डाक्टरले सत्याग्रह गर्नु नपरोस् । अछामका बालबालिकाले किताब कलम  छोडेर मुग्लान जानु  नपरोस । फेरि कुनै दम्पतिले न्यायका लड्दा लड्दै मर्नु नपरोस् । अबको क्रान्ति भनेको भ्रष्ट्राचार विरुद्धको हुनुपर्दछ । कृषिमा आत्मनिर्भर हुनको लागि, समाजमा शान्ति स्थापनाको लागि, विदेशी हस्तक्षेप रोक्नको लागि, जनताको अधिकार सुनिश्चित गर्नको लागि र समाजमा विधिको शासन कायम गर्नका लागि हुनु पर्दछ ।

विश्वकै महान क्रान्तिकारीको रुपमा परिचित चेग्वभेराको अंग्रेजीमा एउटा भनाई छ (The revolution is not an apple that apple that fall when it rise ,you have to make it fall । त्यसैले हामी जनताले परिवर्तनको सुरुवात आफुभित्रैदेखि गर्नुपर्यो । यसो गर्यो भने मात्र देशमा वास्तममै परिवर्तन सम्भव छ ।