कैलालीका स्थानीय तह कोरोना विशेष अस्पताल बनाउने कार्यमा जुटेका छन् ।नेपाल सरकारको निर्णय अनुसार स्थानीय सरकारले कोरोना विशेष अस्पताल निर्माण कार्य अगाडि बढाएका हुन । कोरोना महामारीको जोखिम बढेपछि चालू आर्थिक वर्षमा सङ्घीय सरकारले हरेक स्थानीय तहमा पाँच शैय्याको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पताल बनाउनका लागि प्रत्येक स्थानीय तहलाई १० लाखको दरले बजेट पनि उपलब्ध गराइएको छ ।
संघीय सरकारले कोरोना विशेष अस्पताल निर्माणका लागि बजेट पठाएसंगै निर्माणको प्रक्रिया अगाडि बढाएको कैलारी गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । ‘कोरोना विशेष अस्पतालका लागि स्वास्थ्यकर्मी भर्ना प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने । ‘कर्मचारी भर्ना गरे लगत्तै अस्पताल सञ्चालन गर्छौ ।’ सो गाउँपालिकाले विद्यार्थी नभएको सर्वोदय आधारभूत विद्यालयमा कोरोना अस्पताल बनाउने कार्य अगाडि बढाएको छ । सो विद्यालय यस अघिदेखि नै आइसोलेसनको रुपमा प्रयोग हुँदै आएको छ । सरकारले उपलब्ध गराएको बजेटले अझ व्यवस्थित गर्ने र बेड थप्ने काम हुने संयोजक सापकोटाले उल्लेख गर्नुभयो । ‘केहि बेड पहिलेदेखि नै छ’, उनले अगाडि थपे । ‘केही बेड अझै थप्छौं ।’
स्वास्थ्य मन्त्रालयले तत्काललाई तीन महिनाको लागि कम्तीमा पाँच शैय्याको अस्पताल बनाउनलाई प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँ बजेट दिएको छ । सो बजेटबाट साढे चार लाख रुपियाँ कर्मचारीको तलब, ५० हजार रुपियाँ औषधि र पाँच लाख रुपियाँ बेडमा खर्च गर्नु पर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । कम बजेटमा तत्काललाई पुराना संरचनामामात्रै कोरोना विशेष अस्पताल सञ्चालन गर्न सकिने भएकाले स्थानीय सरकार सोही अनुसार अगाडि बढेका छन् । न्यून बजेटले नयाँ संरचना बनाउन सम्भव नरहेका कारण भजनी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।
कर्मचारी समेत भर्ना गरेर अस्पताल सञ्चालनको तयारीमा रहेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ हरिराम चौधरीले बताए । उनले भने–‘दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरिसकेका छौं । डाक्टरको भने दरखास्त नपरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमै कार्यरत डाक्टरलाई खटाउने निर्णय गरिएको छ ।’
संघीय सरकारले पाँच बेड भने पनि नगरपालिकाले १० बेडसम्म राख्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाइ छ । ‘बरु, बढी हुन सक्छ तर, बेड संख्या कम हुँदैन’, उनले भने । ‘आउँदा दिनमा कोरोना कहरको परिस्थिति के हुन्छ, त्यहि अनुसार स्थानीय सरकार पनि अगाडि बढ्छ ।’ कोरोना विशेष अस्पतालको लागि एक जना डाक्टर, दुई नर्स र एक कार्यालय सहयोगी गरी चार जना कर्मचारी भर्ना गर्नु पर्ने सङ्घीय सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ । चार जना कर्मचारीको तलबको लागि संघीय सरकारले बजेट पठाएको छ । तर, आवश्यक अरु कर्मचारी पालिकाले आफै पनि खटाउन सक्ने जनाइएको छ ।
कैलालीमा १३ वटा स्थानीय तह छन् । जसमध्ये दुई स्थानीय तह विकट पहाडी क्षेत्रमा पर्दछन् । पहाडी क्षेत्रमा रहेका स्थानीय तहले कोरोना विशेष अस्पताल बनाउनका लागि सामुदायिक भवनको खोजी गरिरहेका छन् । तत्काललाई सामुदायिक भवनमा कोरोना विशेष अस्पताल बनाउने गरी अगाडि बढिरहेको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले बताए । ‘हामीले कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिसकेका छौं ।’ उनले भने ।
केन्द्र सरकारले बजेट पठाएपछि जिल्लाका सबै स्थानीय सरकारले कोरोना विशेष अस्पताल निर्माणको काम सुरु गरिसकेको जिल्ला स्वास्थ्य प्रमुख लालबहादुर धामीले बताए । उनले स्थानीय तहहरुले तीन महिनाभित्रै अस्पताल बनाइसक्नु पर्ने उल्लेख गरे ।