नेपालमा अन्यत्र कतै नफल्ने रैथाने बास्मती धान, जोरायलको पहिचान
2020/11/05, 2:04
 
dhan

सिद्धराज भट्ट, सुदूरपश्चिम: नेपालमा अन्यत्र कतै नफल्ने रैथाने जातको ‘जोरायली बास्मती धान’ का बाला झुलेर पहेँलपुर भएका खेतका फाँट देख्न सकिन्छ यतिखेर रमणीय जोरायलमा । जोरायल उपत्यकामा लहलह भएका धानका बाला झुलिरहेको दृश्य निकै रमणीय लाग्छ । धानका फाँट र कलकल बग्ने कर्नासी नदीसहितको वरिपरिको प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जोसुकैलाई पनि आनन्दको अनुभूति गराउँछ । 

खेतका फाँटमा सप्रेको धानबालीको दृश्यबाट नै स्थानीय कृषकले गरेको मेहनत र परिश्रम झकिल्छ । कैलाली जिल्लाको सीमासँग जोडिएको डोटीको जोरायल क्षेत्रले रैथाने जातको बास्नादार बास्मती धान उत्पादनका लागि सदियौँदेखि अलग पहिचान बनाउँदै आएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण जोरायली बास्मती चामलले जोरायल क्षेत्रको पहिचान बनाएको हो । यही फाँटमा फल्ने बास्मती चामलको माग सबैतिर बढ्दै जान थालेसँगै कतिपय स्थानीय युवाहरु यसको कारोवारप्रति पनि आकर्षित हुन थालेका छन् । 

पछिल्ला वर्षहरुमा यो धानको व्यावसायिक खेती शुरु भएसँगै स्थानीय कृषकको आयआर्जनमा वृद्धि भइरहेको गाउँपालिका कार्यालयका कृषि विकास अधिकृत कमलापति भट्टले बताए । उनले भने, ‘‘व्यावसायिक रुपमा यसको खेती शुरु भएसँगै धान उत्पादन गर्ने कृषक मात्र नभएर धानबाट चामल बनाएर कारोवार गर्ने स्थानीय युवाको आम्दानी बढ्दै गएको देखिएको छ ।” धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने प्रवृत्ति बढ््दै जाँदा जोरायली बास्मती धान खरिद गरी चामलको कारोवारमा लागेर आफ्नै गाउँठाउँमा भविष्य खोज्नेहरु पनि अहिले बढ्दै गएको कृषक अगुवाको भनाइ छ ।   यो धानको खेती स्थानीय घरपरिवारले आफ्नो घरायसी उपाभोगका लागि मात्र गर्ने गरिएकोमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा समेत खेती गर्न थालिएको हो ।

स्थानीय टेकबहादुर मडैले पहिलेको भन्दा माग बढ्दै जाँदा बास्मती धान खेतीको क्षेत्रफल वर्षेनी बढ्दै गएको बताए ।  स्थानीय बजारमा लोकप्रिय यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनी जस्ता रैथाने जातको धानखेतीको क्षेत्र भने घट्दै गएको जनाइएको छ । यतिबेला धान बाली भित्र्याइ सकेर गहुँ छर्ने तयारीमा स्थानीय कृषक छन् । खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायतका नदीको पानीले खेतका फाँटमा सिँचाइ गर्न सहज भइरहेको छ । अग्लो ठाउँको जग्गामा भने सिँचाइ सुविधा पुग्न सकेको छैन । जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बास्मती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ ।

बास्मती चामलको भात खाने बानी परेका सौखिनहरु यसको चामल खोज्दै हिंँड्ने गरेका पनि स्थानीय बजारमा देखिन्छ । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा टोलभरि नै सुगन्ध फैलिने हुँदा पनि यसको चामलको बाहिरबाटै पत्तो पाउन सकिन्छ ।  तत्कालीन राजा महेन्द्रले जोरायल भ्रमणका क्रममा यही चामलको भात खाएको र यस चामलको भातको निकै प्रशंसा गरेको स्थानीय वयोवृद्ध धर्मराज अवस्थी बताउँछन् । त्यस समय राजाले नै यो स्थानीय चामलको प्रशंसा गरेको भनेपछि पनि यस चामल अझ बढी लोकप्रिय भएको चर्चा त्यस समयमा पनि चलेको थियो ।    

 पछिल्ला दशकमा यो धानको बीउ हराउने होकि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र कृषकको संयुक्त पहलमा हाल बीउ संरक्षणको पहल पनि भइरहेको छ । रासायनिक मलको प्रयोग नगरी गोबर र कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय कृषकको अनुभव छ । चाडपर्वको समयमा पकाइने मिठो मसिनो खानाका रुपमा बास्मती चालमको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छर छिमेकीसंँग पैँचो नै मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ । बढी जग्गा हुने परिवारले भने बाह्रै महिना यसै चामलको भात खाने गरेको पनि पाइन्छ ।

मीठो मसिनो हुने भएकोले यो चामल स्थानीय क्षेत्रमा पाइने चामलभन्दा केही बढी मूल्यमा खरिद विक्री पनि हुने गरेको छ । स्थानीय बजारमा बास्मती धानको थोक मूल्य प्रति किलो ६२ देखि ६५ र चामल प्रति किलो ११५ देखि  १२० मूल्य पर्ने गरेको छ । जोरायल क्षेत्र बाहिर भने यो धानको चामल प्रति किलो रु १३० देखि १४० सम्ममा कारोवार भइरहेको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले प्रधानमन्त्री कृषि विषेश कार्यक्रमअन्तर्गत जोरायलमा मात्र फल्ने रैथाने जातको बास्मती धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतको काममा किसानलाई गाउँपालिकाले सहयोग गरिरहेको जानकारी दिए । 

ओझाले भने, ‘‘बास्मती चामल सुगन्धित बास्नादार मात्रै छैन, यो अर्गानिकसमेत रहेकोले मधुमेहका साथै अरू दुर्बलतासम्बन्धी बिरामीले उपभोग गर्न पनि उपयुक्त देखिएको बताइन्छ ।” खानमा स्वादिष्ट हुने भएपछि बढेको मागसँगै व्यापार गर्दा पनि मुनाफा राम्रै कमाउन सकिने हुँदा बास्मती धानको दाईं गर्ने मौसममा व्यापारीहरु धान खेतमै पुग्ने गरेका छन् । व्यापारीहरुले यो धानबाट चामल तयार पारी विभिन्न जिल्लामा कारोवार गर्ने गरेका छन् । जोरायल क्षेत्रको वडा नं ३ र ४ का धन्नास, बगडीगाउँ, जिजिकोट, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको झण्डै एक हजार हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा मात्रै यो धान फल्ने गरेको छ । 

समथर क्षेत्रमा उत्पादन हुने धान, गहुँ, मकै लगाएको खाद्यान्नले सम्बन्धित वडाका बासिन्दालाई वर्षभरि खान पुग्छ । धान उत्पादन नहुने गाउँपालिकाको लेकाली र उच्च पहाडी भेकमा भने खाद्यान्नको बेलाबखत अभाव हुनेगरेको छ । प्रदेश सरकारले रैथाने जातका अन्न बाली र मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सम्बद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेशमा मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीति छ । तर पनि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रुपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । 

सरकारको नीतिबमोजिम गत वर्षमा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको झण्डै २०० हेक्टर जग्गामा मसिनो तथा बास्नादार धानखेती गरिएको थियो । तराईका कैलाली र कञ्चनपुरमा रैथाने जातको ‘थारु आलु’ र पहाडी जिल्लामा रैथाने जातका धान, जौँ, फापर, बेथे, लट्टे, जस्ता बालीको संरक्षण सम्बद्र्धन कार्यक्रम कार्यान्वयन भइरहेको छ । उन्नत जातका अन्नको तुलनामा रैथाने जातका अन्न खानामा स्वादिलो र पौष्टिक  हुने, रोग कीराको समस्या कम देखिने र भण्डारण गर्न त्यति समस्या नहुने गरेको किसानको अनुभव छ ।  प्राकृतिक रुपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार ८०० मिटरको उचाइमा रहेको छ । बाहुन, क्षेत्री, दलित, मगरलगायतका समुदायको बसोबास रहेको यो क्षेत्रमा पछिल्लो दशकमा सडक, विद्युत्, खानेपानीलगायतका विकासका आधारभूत पूर्वाधारहरुको निर्माणको काम धमाधम भइरहेको छ ।  

अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वषौँअघि अन्यत्रै बसाइँ सरेर गएका स्थानीयहरुको मन पनि अहिले आफ्नो जन्मथलोमा निर्माण भइरहेका सडकलगायतका विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किन पलाएको कतिपयको अनुभव पनि ।  साविकका घण्टेश्वर, निरौली, सरस्वतीनगर, लक्ष्मीनगर, छतिवनलगायतका गाविसलाई एकीकृत गरी जोरायल गाउँपालिका बनाइएको हो । डोटीको सदरमुकाम दीपायल सिलगढीबाट झण्डै ६० किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको यो गाउँपालिकाको जनसङ्ख्या २१ हजार ६६८ रहेको छ ।