टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा
2020/11/06, 8:30
 
corona

टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गरीन् । स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आए । सेतीलाई सञ्चो भयो । 

“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भनिन्, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उनले पनि शान्तिलाई फोन गरिन् । शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उनी पनि निको भईन् ।

कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशी छिन् । वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि सुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ३५० जनाले सेवा पाइसकेका छन् । चालु आर्थिक वर्षको साउनदेखि सुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।

स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवा दिइरहेको बताउँछिन् । “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भनिन्, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताईन् ।

“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी हुनुभएको छ”, नेपालीले भनिन्, “समुदायमा मेरो नम्बर बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्छिन् । 

टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा सुरु गरेको बताउँछन् । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गनुर््पर्ने हुन्छ”, थारुले भने, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महशुस गरेका छन् ।”