धनगढीको कोरोना अस्पताल संक्रमितले भरिएपछि उपचारमा समस्या हुने भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्थापना गरिएको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएपछि उपचारमा समस्या हुने भएको हो । जनरल वार्डहरुका साथै अस्पतालको सघन उपचार कक्ष आईसीयू पनि भरिएको छ भने ३ वटा भेन्टिलेटर मात्र खाली छ ।
१० शैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पिक व्यवस्था गर्दै २० शैयाको बनाएको छ तर अस्पताल भर्ना भएका १७ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ३ वटा वैकल्पिक शैया मात्र खाली छन् । प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार सेवा दिने भन्ने चुनौती बढेको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
अहिलेकै अवस्थामा थप जटिल खालका संक्रमित आएमा भर्ना गर्न सकिने स्थिति नरहेको भन्दै सुचना अधिकारी श्रेष्ठले विकल्पको बारेमा छलफल भइरहेको जानकारी दिए । अस्पतालमा सिमित जनशक्ति र आईसीयु तथा भेन्टिलेटर हुँदा गम्भीर संक्रमितले उपचार नपाउने स्थिति आएको छ । आवश्यक परेमा सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भएपनि व्यवस्थापन गर्ने तयारी गरिरहेको श्रेष्ठको भनाई छ ।
सुदूरपश्चिममा धनगढीको कोभिड अस्थायी अस्पताल सहित विभिन्न १८ अस्पतालमा ३ सय १० आईसोलेसन वेड छन् । ती मध्ये अहिलेसम्म ८४ जना अस्पताल भर्ना भएका छन् । अन्यत्रका अस्पतालमा तत्काल आईसीयू र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । तर सेतीमा समेत शैया भरिएपछि उपचारमा समस्या हुने देखिएको छ ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले उपलब्ध पूर्वाधार र जनशक्तिले भ्याए सम्म संक्रमितलाई सेवा दिइरहेको बताउँदै थप शैया र उपकरण व्यवस्थापन गर्ने विषयमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरिरहेको बताए । उनले छलफलबाट अब कसरी अगाडी बढ्ने भन्ने टुंगो लगाईने जानकारी दिए ।
दशैँका बेला हुने जमघटले संक्रमणको दर बढाउने चिकित्सकहरुले पूर्व आकलन अनुसार नै पछिल्लो समय कैलाली सहितका जिल्लाहरुमा संक्रमण बृद्धि भएको छ । कडा लक्षण सहितका संक्रमितको संख्यामा समेत वृद्धि भइरहेको चिकित्सकले बताएका छन् । पछिल्लो समय स्वास्थ्य असावधानी बढेपछि गम्भीर अवस्था भएपछि मात्रै अस्पताल जाने गर्दा सहयोगी उपचार दिन समेत समस्या भइरहेको छ । प्रदेश सरकार लगायतका निकायले भने अस्पतालमा जनशक्ती थप्ने र उपकरण विस्तारमा भने खासै चासो दिएको छैन् ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए । ९ वटै जिल्ला अस्पतालमा समेत आईसीयू र भेन्टिलेटर सेवा व्यवस्थापन गर्न पूर्वाधारको व्यवस्थापन भइरहेको छ भन्दै कार्कीले शैया थप गर्न खरिद प्रक्रिया पनि अगाडी बढाइसकेको जानकारी दिए । उनका अनुसार धनगढीको कोभिड अस्थायी अस्पतालमा तत्काल शैया खाली नभए पूरानो भवनमै भएपनि व्यवस्थापनको काम गरिनेछ ।