पहिलो पटक भारतको आइटीबीपीको सुरक्षाकर्मी चीनको गतिविधि नियाल्न लिपुलेकमा बस्ने भएको छ । उच्च हिमपात हुने क्षेत्रमा पहिलो पटक भारतले आइटीबीको सुरक्षाकर्मी चिसो समयमा पनि तैनाथ गर्न लागेको हो । पछिल्लो समय भारत चीन बीच विवाद भइरहेको बेला भारतले आफ्नो सीमा क्षेत्रमा चिसो समयमा पनि सुरक्षाकर्मीको तैनाथ गर्ने भएको हो । यो क्षेत्र समुद्री सतहदेखि १० हजारदेखि १६ हजार ५ सय फिट उचाईमा पर्छ ।
यो क्षेत्रमा आइटीबीपीको सुरक्षाकर्मी सधै बस्ने भएपछि अहिले भारत सरकारले उनीहरुको लागि हेलिकप्टरमार्फत गर्मीको लागि चाहिने लुगा पठाउन सुरु गरेको छ । भारतको दुंग, बुगडियार र रिलकोट चोकिको लागि यों भारतले चिसो मौसमको लागि चाहिने सामग्री ढुवानी गरिरहेको छ । यो क्षेत्रमा भारतले सात सयदेखि आठ सयको हाराहारीमा आइटीबीपी खटाउने भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।
भारत पिथौरागढ अन्तर्गत धार्चुलाको उच्च भूभागमा बस्ने मानिसहरु यो क्षेत्रमा चिसो मौसम शुरु भएसँगै बेसी बसाईसराई सर्न थालेका छन् । भारत व्यास घाँटीमा बूंदी, गव्र्यांग, नपलच्यू, गुंजी, रोंगकांग, नाभी, कुटी लगायतका गाउँहरुमा साढे ४ सय बढी परिवारको बसोबास छ । यहाँका स्थानीय हरेक वर्ष पशुचौपायासहित चिसो मौसममा बेसीतिर झर्ने गर्छन भने गर्मी समयमा उनीहरु लेकतिर उक्लिने गर्छन् । उनीहरुको भाषामा बसाईसराई सर्नुलाई कुञ्चा सर्नु भनिन्छ ।
नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरका स्थानीय पनि व्यासमा हिमपात हुन थालेपछि मंसिर पहिलो साताभित्र चिसो छल्न सदरमुकाम खलंगा झर्ने तयारी छ । नेपालतिर बाटो नहुँदा पुनः पनि भारतीय पक्षसँग आग्रह गरेर कुञ्चा सर्नुपर्ने अवस्था आएको व्यास १ छांगरुका स्थानीय जगदीश प्रताप ऐतवालले बताए ।
गत साता व्यासमा हिउँ परेको थियो । जसको कारण कुन्ती साउँसम्म हिउँ परेपछि बाटो अप्ठ्यारो भएको छ । बाटो अप्ठ्यारो हुँदा नेपालकै बाटो भएर बसाईसराई सर्न समस्या हुने देखिएको ऐतवाल बताउँछन् । नेपाल र भारतका सौका समुदायको हरेक वर्ष गर्मीमा लेकतिर उक्लिने र चिसोमा बेसी झर्ने परम्परा रहिआएको छ । उनीहरुको दुवैतिरको भेषभुषा र बिहेबारी चलन छ ।
कुञ्चा सरिसकेपछि ग्रामीण भेगहरु सुनसान बनेको ठाउँमा यो पटक नेपाल भारतका सुरक्षाकर्मीहरुले सुरक्षा दिने भएका छन् । लद्दाख क्षेत्रमा चीनसँगको झडपमा ठुलो संख्यामा भारतीय सेना हाताहात भएपछि हिउँदमा समेत सेनाले गस्ती गर्न लागेको बताइन्छ । १० हजारदेखि साढे १६ हजार फिट उचाइसम्मको लिपुलेकमा हिउँदमा माइनस २० डिग्रीसम्म तापक्रम रहने गर्छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार रिलकोट चौकी १० हजार फिट उचाइमा छ । बुगडियार चौकी ८ हजार ८९८ र दुंग चौकी साढे १६ हजार फिट उचाइमा रहेको छ । यो पहिलो पटक हो चीनसँग सीमा जोडिएका गाउँमा ८ देखि १२ फिट हिउँमा भारतीय सेना तैनाथ हुने भएका छन् । चीनको हरेक गतिविधि निगरानी गर्न भारतले लिपुलेकमा एचडी क्यामेरा समेत जडान गरेको छ । यसको अनुगमन दिल्लीबाटै हुने भारतीय सञ्चार माध्यमको दाबी छ ।
यता व्यासको छांगरुमा नेपालले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई चिसो समयमा पनि त्यहि तैनाथ गर्ने भएको छ । व्यासको छांगरु गागामा रहेको सशस्त्र प्रहरीको नम्बर ५० गुल्मलाई पहिलो पटक चिसो मौसममै राख्ने तयारी भएको सुरक्षा अधिकारीले जनाएका छन् ।