बाढीले गाउँ बगाएर उजाड र सुनसान बनेको १४ वर्षपछि परशुराम नगरपालिका–६ सिमलखेतमा फेरि चहलपहल बढेको छ । बाढीका कारण घरबारविहीन भएकाहरू कोही आफन्तकहाँ, कोही सामुदायिक वन र कोही कैलाली, कञ्चनपुरका राजमार्ग छेउमा बसेर विस्थापित जीवन बाँचिरहेका थिए । पछिल्लो समय उनै बाढी पीडितहरू गाउँ फर्कन थालेपछि रंगुन उपत्यकाको सिमलखेत गाउँ फेरि पुरानै लयमा फर्किन थालेको हो ।
परशुराम नगरपालिका ६ सिमलखेतमा बगर बनेको जग्गामा फेरि खेती सुरु गर्दै स्थानीय । बाढीले बगर बनाएपछि १२ वर्षअघि विस्थापित भएका स्थानीय तटबन्ध निर्माणपछि फेरि थातथलो फर्किएका छन् ।
सिमलखेत मात्र होइन, बाढीले साविक जोगबुढा गाविस–२ पूरै बगाएपछि सयौं परिवारको बिचल्ली भएको थियो । रंगुनमा तटबन्ध र च्रुेमा वन फँडानी रोकिएपछि बाढीले बगर बनाएको जग्गा पन्छाउँदै उनीहरूले फेरि नयाँ जीवनको सुरुवात गरेका हुन् । ‘थातथलोमा फर्कन पाएपछि सबै उत्साहित छन्,’ स्थानीय कृष्ण भट्टले भने, ‘बगर बनेको गाउँमा फेरि जीवनको आशा पलाएको छ ।’
गाउँ फर्किनेमध्येमा पर्छन् खडक भट्ट पनि । २०६२ मा रंगुन नदीमा आएको बाढीले घरजग्गा सबै बगाएर विस्थापित बनेका खडकले भने, ‘१४ वर्षको वनवासपछि घर फर्किए जस्तो भएको छ ।’ त्यस समय खडकसहित गाउँका ४६ बढी परिवार विस्थापित भएका थिए ।
‘कुनै दिन यसरी पुनः गाउँ फर्किएर बस्न पाइएला भन्ने कल्पनासमेत गरेका थिएनौं,’ अर्का विस्थापित हरि थापा भन्छन्, ‘१२ वर्षमा खोलो फर्कन्छ भन्छन् । घरबारविहीन बनाएको रंगुन नदीमा तटबन्ध गरी नदी फर्काइएपछि हामीले पुनः गाउँ फर्कन पाएका हौं ।’
खडक र हरि मात्र होइन, डडेलधुराको रंगुन उपत्यकामा बाढी, नदी कटान र चुरेका खहरेखोलाले घरजग्गा बगाएर विस्थापित बनेका अधिकांश पीडित पुनः गाउँ फर्कन थालेका छन् । डोटी र डडेलधुराको सिमाना सालिमे लेकबाट सुरु भएर महाकालीसम्म बग्ने झन्डै ४० किलोमिटर लामो रंगुन नदीमा तटबन्ध निर्माण सुरु भएको पाँच वर्ष भइसकेको छ । तटबन्ध बनेपछि सुरक्षित भइने आशामा अधिकांश पीडित आफ्नो पुरानै थातथलोमा फर्किन थालेका हुन् ।
तत्कालीन जोगबुढा गाविस–२ सहित आलीताल गाविसको सुन खोलादेखि महाकालीसम्मको ४० किलोमिटर नदी किनारी क्षेत्रका एक दर्जन बस्ती पुनःस्थापित हुँदै छन् । स्थानीय तहको निर्वाचनपछि तटबन्ध, नदी नियन्त्रण र वन संरक्षणको काम प्रभावकारी रूपमा सञ्चालन भएपछि विस्थापितहरूले पुनः आफ्नो थातथलोमा फर्कने वातावरण बनेको हो ।
‘गत वर्षसम्म २ सय ६४ परिवार पुनःस्थापित भइसकेका छन् भने विस्थापित भएर सुकुम्बासी जीवन बाँच्न बाध्य अरू धेरै परिवार पनि फर्किने तरखरमा छन्,’ स्थानीयसमेत रहेका सहायक इन्जिनियर हरि पनेरूले भने, ‘स्थानीय तहको निगरानीमा प्रभावकारी रूपमा काम हुन थालेपछि बगरमा परिणत भएको रंगुन उपत्यका पुन ः एक पटक हराभरा हुन थालेको देख्न सकिने भएको छ ।’
स्थानीय तह, जिल्ला प्रशासन र अन्य सरोकारवाला निकायसँग विस्थापित भएका नागरिकको यकिन सूची छैन । दुई दशकयता जिल्लाको भित्री मधेस क्षेत्रबाट बाढी र कटानका कारण दुई हजार बढी परिवार विस्थापित भएको आकलन छ ।
बाढी र कटानका कारण विस्थापित भएकाको सहयोग गरिरहेको गैरसरकारी संस्था सामाजिक विकास मञ्चका अनुसार आंशिक विस्थापितसहितको संख्या योभन्दा अझै धेरै हुन सक्छ । संस्थाका निर्देशक दयाराम चापागाईंले भने, ‘सरोकारवाला निकायले पूर्ण रूपमा घरजग्गा बगाएकालाई मात्र विस्थापितको सूचीमा राखेको छ । तर, बाढी र कटानले बस्न नसकिने गरी क्षति पुगेका बस्तीबाट विगतमा ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन् ।’
पछिल्लो समय रंगुन नदी नियन्त्रणको काम धमाधम हुन थालेपछि विस्थापितहरू फर्कने र बाढीले बगाएको आफ्नो उब्जाउ जमिनमा खेती गर्ने क्रम सुरु भएको उनले बताए । अढाई वर्षयता रंगुन नदीमा ६ किलोमिटरभन्दा बढी नदी नियन्त्रणको काम सम्पन्न भइसकेको छ । संघीय सरकारको बजेट र स्थानीय तहको निगरानीमा रंगुन नदीले सबैभन्दा बढी क्षति पुर्याएको सिमलखेत, परिगाउँ, लालढुंगा, कटान र आमपानी क्षेत्रमा तटबन्धको काम सम्पन्न भइसकेको छ ।
वन फँडानी नियन्त्रण गरिँदा चुरेबाट हरेक वर्ष नयाँ–नयाँ खहरे खोला बन्ने क्रम रोकिएको छ । चुरेमा खहरे खोला बन्ने क्रम रोकिएपछि रंगुन उपत्यका जोड्ने बुडर–जोगबुढा सडक स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ । पछिल्ला ५ वर्षमा सरकारी, गैरसरकारी क्षेत्रबाट सुरु भएका संरक्षण कार्यक्रम र स्थानीय तहको प्रयासले बगरमा परिणत रंगुन उपत्यकाले परिवर्तनको स्वरूप पाएको छ ।
डोटी–डडेलधुरा सिमानामा रहेको बुडर बजारदेखि भित्री मधेस क्षेत्र छिर्ने जो कोहीले पनि परिवर्तनको यो अनुभूति सहज रूपमा गर्न सक्ने स्थानीय बताउँछन् । ‘बुडरबाट उपत्यका छिर्न थालेपछि चारैतिर नदी कटान र चुरेबाट निस्कने खहरे खोलाले बगरैबगर देखिने यस क्षेत्रमा पछिल्लो समय हरियाली छाएको देख्न सकिन्छ,’ आलीताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले भने ।