बाजुराका स्थानीय तहले कोभिड अस्पतालका लागि चिकित्सक पाएनन्
2020/11/16, 12:27
 
corona

सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेटसहित निर्देशन जारी गरेको छ ।  सोही अनुसार तत्काल ३ महिनाका लागि बाजुराका ७ स्थानीय तहमा संघीय सरकारले १० लाखका दरले बजेट पठाएको छ ।

९ स्थानीय तह रहेको बाजुरामा ७ स्थानीय तहलाई बजेट पठाइएको भएपनि उनीहरुले कोभिड अस्पतालका लागि चिकित्सक नपाएको बताएका छन् ।  सरकारले कोभिड अस्पतालका लागि एकजना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स, एकजना ल्याब टेक्निसियम र एकजना कार्यालय सहयोगी राख्नका लागि बजेट व्यवस्थापन गरेको थियो । सोही अनुसार ७ वटै स्थानीय तहले कर्मचारी भर्नाको सूचना जारी गरेको भएपनि एकजना चिकित्सकले पनि दरखास्त नदिएको स्थानीय तहले बताएका छन् । 

७ वटै स्थानीय तहले पहिलोपटक एक महिनाको सूचना प्रकाशित गरेको समय समेत सकिसकेको छ । आफुहरुले १ महिनाको सूचना निकालेको तर १ जना पनि सम्पर्कमा नआएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले बताए । ‘सरकारले नेपाल सरकारको तलब स्केलमा बजेट पठाएको छ, तर मेडिकल अधिकृतले न्यूनतम १ लाख भन्दा बढी माग्छन्, त्यो नभएको बताएपछि आउँदैनन्’ उनले भने । 

यस्तै गौमुल गाँउपालिका अध्यक्ष हरीबहादुर रोकायाले आफुहरुले पत्रिका मार्फत विज्ञापन गरेको र व्यक्तिगत रुपमा सम्पर्क गरेको भएतापनि कतै मेडिकल अधिकृत नपाएको बताए ।  गाँउपालिकाले तलबका लागि थप बजेटको व्यवस्थापन गर्ने भनेपनि चिकित्सक नपाएको रोकायाले बताए । उता स्वामिकार्तिक गाँउपालिकाले दोस्रोपटक सूचना निकालेको छ । तर एकजनाको पनि दरखास्त परेको छैन ।  मेडिकल अधिकृत बाहेक स्टाफ नर्स र अन्य कर्मचारी भर्ना गरिसकेको स्थानीय तहले जनाएका छन् । 

अस्पतालका लागि संघीय सरकारले पहिलो पटक ३ महिनाको लागि १० लाख पठाएको छ । ४ लाख ५० हजार तलब खर्च र ५ लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाएको हिमाली गाँउपालिका निमित्त प्रशासकिय अधिकृत जनकबहादुर शाहिले बताए ।   बाजुरामा कोरोनाको परीक्षण नहुने गरेको भएपनि स्वाब संकलन गरेर जिल्ला बाहिर पठाइने गरिन्छ । जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ५ सय ९२ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ ।