बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नम्बर ६ स्थित खानेपानीको मूहानमा मरेका ११ ओटा गाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मूहानमा गाई मृत अवस्थामा भेटिएका छन् । खानेपानीको मूहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिका वडा नम्बर ६ को मुडेलीका ८० घर परिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ ।
गाउँमा आउने खानेपानीको मूहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताईन् । उनले भनिन् ‘पानीको मूहानमा ११ ओटा गाई मृत अवस्थामा भेटिएका छन् । पानीको मूहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्ध समेत फैलिएको छ ।’ पुर्चौंडी नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मूहानमा गाई मृत अवस्थामा भेटिएकाले सडकबाटै गाईलाई फालिएको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
‘११ ओटा गाई पानीको मूहानमा मृत अवस्थामा फेला परेका छन् । गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौं ।’ स्थानीय प्रेम साउँदले भने, ‘पानीको मूहानमा गाई मरेका भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।’ मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रति गाई २ हजार ५ सयका दरले ती व्यक्तिहरुको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले जानकारी दिईन ।
पानीको मूहानमा मृत अवस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यस तर्फ गएको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । पानीको मूहानमै गाईहरु मृत भेटिएपछि मुडेली स्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकाहरुलाई समेत खानेपानीको समस्या भएको छ ।