वन मुद्धामा पक्राउ आदेश भएपछि कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरी डेढ महिनादेखि फरार रहेका छन् । डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण तथा वन विनाश गरेको मुद्धामा पक्राउ पूर्जी जारी गरेपछि वडा अध्यक्ष चौधरी डेढ महिनादेखि फरार भएका हुन् । उनी विरुद्ध वन कार्यालयले असोज १९ गते नै पक्राउ पूर्जी जारी गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेलले बताए । उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
उता वन मुद्धा लागेका वडाध्यक्षलाई भने राजनितिक पुर्वाग्रहमा मुद्धा लगाएर फसाउन खोजेको स्थानीय वासिन्दाहरुले बताएका छन् । उनीहरुले वनको खाली जग्गामा गौशाला निर्माणका लागि आफुहरुले जमीन सम्ह्याउने काम गरेको तर त्यसमा वडाध्यक्ष चौधरीको कुनै संग्लनता नरहेको दावी गरेका छन् ।
वडा नम्बर ६ का स्थानीय वासिन्दाहरुको बालाीनाली छाडा पशु चौपायाले नोक्सान गर्न थालेपछि गौशाला बनाउनका लागि आफुहरुले जमिन सम्याएर सानो टहरा बनाएको गाउँका भलमन्सा रमेश चौधरीले बताए । नम्बरी जग्गाको छेउमै ताल रहेको र छाडा पशुचौपायलाई सजिलोका लागि आफुहरुले नै जग्गा खोजेर गौशाला बनाउने क्रममा वनका कर्मचारीहरुले एक पटक पनि नसोधी टहरा भत्काएको र वडाध्यक्ष चौधरीलाई वन मुद्धा लगाएको उनको भनाई छ ।
वन फडानी गरिएको भनिएको क्षेत्रमा पनि रुखहरु नरहेको र स साना बुटेयानहरुको झाँडीलाई सफा गरेर गौशालाको काम अगाडी बढाएको स्थानीय वासिन्दाहरु बताउँछन् । उनीहरुका अनुसार सो स्थान बर्षौदेखि धान दाउने ठाउँको रुपमा रहेको थियो । शसस्त्र द्धन्द्धको समयमा सो स्थानमा धान दाउने काम बन्द भएको थियो । स्थानीय वासिन्दाहरुलाई छाडा पशु चौपायले आजित पारेपछि उनीहरुले नै गाउँस्तरमा पटक पटक बैठक गर्दै गौशाला बनाउने भनेर निर्णय गरिएको स्थानीय वासिन्दा भीम चौधरीले बताए ।
पशुहरुले सताउँदा दिक्क भएर कति धपाउनु भनेर सल्लाह गर्दै गौशालाका लागि तारबार गर्न खोज्दा अवरोध गर्न खोजिएको उनले आरोप लगाए । वन अतिक्रमण गरिएको भन्दै आरोप लागेको क्षेत्रसँगै वडाध्यक्ष खेम चौधरीको जग्गा जोडिएको छ । त्यसकै छेउमा ताल छ । जनता र वडाका वासिन्दाहरुका लागि नै वडाध्यक्ष बनेकोले उनले कुनै आपत्ति नजनाउने छलफल भएपछि स्थानीयहरु गएर फरुवाले त्यहाँ रहेका झाडीहरु सफा गरेको तर त्यो काममा वडाध्यक्ष चौधरी सहभागी नभएको स्थानीय अगुवा जगनाथ चौधरीले बताए ।
वन विनाश गरेको भन्दै वडाध्यक्षलाई वन मुद्धा लगाईएको भएपनि स्थानीयहरुको वन विना नगर्ने उद्देश्य रहेको उनले बताए । वडाध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको भन्दै वन मुद्धा लागेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्षको टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिई वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पछि पुनः उनी नेपाली कांग्रेसमै फर्किएका थिए । त्यही भएर पनि राजनितिक प्रतिसोध साध्नका लागि झुटो मुद्धा लगाईएको वडाका वासिन्दाहरुको आरोप छ । वडाकै कोईलही ताल लगायतका विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउनतिर ध्यान नदिएर रुख नै नभएको जग्गामा गौशाला बनाउन खोज्दा चौधरीको राजनिति तहसनहस पार्नका लागि सुनियोजित रुपमा फसाईएको स्थानीय गणेश देउवाले बताए ।
वडाध्यक्ष चौधरी फरार भएपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित नहोस भनेर कार्यवाहक अध्यक्ष तोकिएको छ । कैलारी गाउँपालिकामा तत्कालीन नेकपा माओवादी र अहिलेको नेकपाको बाहुल्यता रहेको छ । त्यसै कारण पनि राजनितिक षडयन्त्र गर्दै वडाध्यक्ष चौधरीलाई फसाउने चलखेल भईरहेको स्थानीय वासिन्दाहरुको आरोप छ ।
चौधरीलाई जसरी पनि समात्न नेकपाका नेताहरु, प्रदेश सभा सदस्यहरु र स्थानीय नेताहरुले वन डिभिजन कार्यालयका कर्मचारीलाई दबाब दिईरहेका छन् । त्यसो नभएका उनीहरुको सरुवा गर्ने धम्की समेत नेकपाका नेताहरुले दिएको बताईएको छ ।