कोरोनाबाट कर्मचारीको मुत्यु भएपछि दार्चुलाको विद्युत कार्यालय शिल
2020/11/20, 5:10
 
corona

कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र अनिश्चितकालका लागि बन्द गरिएको छ । ३० वर्षीय कर्मचारीको मृत्यु भएपछि मंसिर ३ गतेबाट सम्पूर्ण कामकाज बन्द गरिएको विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । 

कार्तिक  ३० गते स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धनगढी लैजाने क्रममा कर्मचारीको बाटोमै मृत्यु भएको थियो । त्यसपछि बैतडी प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो । त्यसयता विद्युत कार्यालय पुरै शिल गरिएको वितरण केन्द्रका सूचना अधिकारी केशवदत्त भट्टले जानकारी दिए । 

यसैबिच शुक्रबार वितरण केन्द्रमा कार्यरत थप ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा केन्द्रका ८ सहित दार्चुलाका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका ३ जना प्रहरी जवान तथा १ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै सरकारी वकिल कार्यालयका सवारी चालकमा समेत कोरोना देखिएको महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मोहनसिंह महराले बताए ।