कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका शिवलाल रानाको शव भारतीय प्रहरीले शुक्रवार राती आफन्तलाई बुझाएको छ । राती साढे १० बजे उनको शव आफन्तले नेपाल पु-यायका छन् ।
भारतको लखीमपुरमा पोस्टमार्टम गरेर प्रहरीले गौरीफन्टा नाका सम्म शव पुगाइ दिएका थिए । त्यहाँबाट मृतकका आफन्तले शव आफै घर सम्म लगेका थिए । लखनउ अस्पतालमा भारतीय प्रहरीले उनको पोस्टमार्टम गरे पनि रिपोट भने दिएका छैनन् ।
भोलि आइतबार पोस्टमार्टम रिपोट आएपछि दिइने भारतीय प्रहरीले मृतकका आफन्तलाई बताएका थिए । उनको आज पुर्नबासको दोदा नदीमा दाहसंस्कार गर्ने तयारी आफन्तले गरेका छन् ।
पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा बिहीबार दिउँसो करिब १ बजे भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा शव भेटिएको थियो । उनी त्यसको अघिल्लो दिन बुधवार दिउँसो घरबाट सम्पर्क विहीन भएको आफन्तले बताएका छन् ।
नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्ज जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको शव आफन्तले बोकेर दशगजा नजिक ल्याएका थिए । तर भारतीय प्रहरीले घटना भारतमा भएको र अनुसन्धान गर्ने भन्दै रोकेको थियो । घटना भएको ठाउँमा रगत हरू पनि ढाकछोप गरी गरी प्रमाण मेटाइएको आफन्तको भनाइ छ ।
गोली प्रहार गरी हत्या कसले किन गरेको हो भन्ने विषयमा अहिले सम्म भारतीय प्रहरीले केही बताएको छैन । मृतकका परिवारजनले घटनाको सत्य तथ्य छानबिनका लागी नेपाल सरकार लाई आग्रह गरेका छन् ।