कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको अन्त्यष्टी गरिएको छ । शुक्रबार बिहान घर नजिकैको किसान मध्यवर्ती वनमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका वडाध्यक्ष रोकायाको झिलमिला स्थित आर्यघाटमा शनिबार अन्त्यष्टी गरिएको हो ।
५५ वर्षीय मृतक रोकायाको अन्तिम संस्कारमा सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, पुनर्वास नगरपालिका नगर प्रमुख जीवनराज थापा र उपप्रमुख शारदा शर्मा बिष्ट, बेलौरी नगरपालिकाकी उपप्रमुख चित्र कुमारी चौधरी, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र उपप्रमुख सुशीला सिंह, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीच, वडाध्यक्ष रोकायाको निधनमा बेलडाँडी गाउँपालिकाले आइतबारका दिन शोक विदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी दिए ।