टोकियो ओलम्पिकमा छनोट भएका धनगढीका म्याराथन धावक पार्की भन्छन्– अबको लक्ष्य रेकर्ड ब्रेक
लकडाउन सदुपयोगको नतिजा बन्यो नेपालगन्ज म्याराथनको उपाधि
2020/11/22, 10:44
 
parki

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । सागमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्की अर्को वर्ष जापानमा हुने ओलम्पिकका लागि छनोट भएका हुन् ।  शनिबार भएको छैटौं नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा हेरिएको थियो ।

सोही प्रतियोगितामा च्याम्पियन बन्दै पार्की ओलम्पिकका लागि एथ्लेटिक्समा छनोट भएका हुन् । उनले आर्मीका कृष्ण बस्नेतलाई पछि पार्दै नेपालगन्ज म्याराथनमा च्याम्पियन बनेका थिए । पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । जुन नेपालमा भएका म्याराथनहरुमा कुनै पनि खेलाडीले दौड पूरा गरेको यो छोटो समय हो । 


यो उपलब्धि लकडाउनका बेला पनि निरन्तर प्रशिक्षण गरेको फल भएको पार्कीले बताए । उनले लकडाउनका बेला कुनै पनि दिन आफूले प्रशिक्षण नछोडेको बताए । “हामी विभागीय खेलाडी भएका करण महामारीबीच ड्युटीका लागि स्टेन्डबाई थियौं । हाजिर गर्न सधैं कार्यालय पुग्नै पर्थ्यो । तर, सागमा स्वर्ण पदक विजेताका हिसाबमा ड्युटीमा भने संगठनले खटाएको भने थिएन,” पार्कीले भने, “यस्ता महामारी विगतमा पनि नआएका भने होइनन् । म ड्युटीका लागि स्टेन्डबाई भए पनि प्रशिक्षणका लागि नियमित समय मिलाएको थिएँ । मैले आजका दिनसम्म प्रशिक्षण रोकेको छैन ।”

उनले लकडाउनकै बीचमा आफूले आफूलाई दुईपटक परीक्षण गर्दा दुईपटक समयमा सुधार आएको बताए । उनले प्रशिक्षक र आफू विभागीय टिममा भएका कारण महामारीमा पनि प्रशिक्षण गर्न सहज भएको बताए । उनले एक(दुई साताअघि मात्र प्रतियोगितामा सहभागिता हुन बोलाउने नेपाली खेलकुदको संस्कृति भएकाले आफू स्वयंले दैनिक रुपमा प्रशिक्षण गर्न आवश्वयक भएको बताए । लकडाउनमा गरेको निरन्तर प्रशिक्षणले आफ्नो लयमा अझै सुधार आएको उनी सुनाउँछन् । लकडाउनका बेला स्वस्थ वातावरण र खुला सडक बाटोले आफूलाई दैनिक प्रशिक्षण गर्न झनै सहज भएको पार्कीले बताए । 

अबको लक्ष्य कीर्तिमानतर्फ
उनले अब आफ्नो लक्ष्य कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भङ्ग गर्नु रहेको बताए । “अब मेरो लक्ष्य एउटै छ । १३औं सागपछि म्याराथन हस्ती भनेर चिनिने वैकुण्ठ मानन्धरको कीर्तिमान भङ्ग गर्नु हो । उहाँले पनि आफू रहुन्जेल त्यो रेकर्ड कसैले ब्रेक गरुन् भन्ने चाहनुभएको छ । मेरो चाहना पनि त्यही हो । म गर्नु सक्छु पनि,” उनले भने । मानन्धरले अन्तर्राष्ट्रिय म्याराथनमा २ घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै आफ्नो नाममा राष्ट्रिय कीर्तिमान राखेका थिए । सोही कीर्तिमान २०२१ भित्र आफ्नो नाममा राखिसक्ने लक्ष्य रहेको उनी सुनाउँछन् । पार्कीले २०२१ मा दुबई वा भारतमा आयोजना हुने म्याराथनमा सोही कीर्तिमान ब्रेक गर्दै आफ्नो नाममा राख्ने लक्ष्य भए पनि हाल नेपालगन्ज म्याराथनमा दौडेकाले अब यो लक्ष्य ओलम्पिकमा पूरा गर्ने बताए । उनले अब तीन महिना विश्राम गर्नुपर्ने भएकाले अबको यात्रा ओलम्पिक भएको बताए ।

“२०२१ भित्र नै वैकुण्ठ सरको कीर्तिमान आफ्नो नाममा गरिसक्ने लक्ष्य थियो,” उनले भने, “त्यसैका लागि मैले ११ महिनाको तालिका बनाएर प्रशिक्षण पनि त्यहीअनुसारको गरिरहेका थिए । तर, नेपालगन्ज म्याराथनमा सहभागी भएकाले अबको यात्रा ओलम्पिक हुनेछ । यसबीच भएका यी प्रतियोगितासँग यो लक्ष्यको कुनै सम्बन्ध रहने छैन । किनभने त्यसलाई तयारीका रुपमा लिएको छु । लक्ष्य त्यही हुनेछ । ओलम्पिक होस् वा एसियन गेम्स् ।” उनले थपे, “वैकुण्ठ गुरुको कीर्तिमान (दुई घण्टा १५ मिनेट) ब्रेक गर्नु भनेको एसियन गेम्समा पदक जित्नु हो । दुई घण्टा १२ देखि १३ मिनेटमा एसियन गेम्सका स्वर्ण पदक जित्न सकिन्छ । अब वैकुण्ठ गुरुको कीर्तिमान ब्रेक गर्न २ घण्टा १४ मिनेटमा दौड पूरा गर्नुपर्ने हुन्छ । त्यस्तैले त्यो टाइम भनेको ओलम्पिक र एसियन गेम्सको तयारी पनि हो ।” 

उनले अब ओलम्पिक र एसियन गेम्समा सहभागिता मात्र नभई पदकको दाबेदारका हिसाबमा नेपालको चुनौती प्रस्तुत गर्ने बताए । अहिलेसम्म राष्ट्रिय कीर्तिमान र सहभागिताका लागि मात्र ओलम्पिक र एसियन गेम्समा सहभागिता हुने परम्पराको अन्त्य गर्ने उनको भनाइ छ । १३औं सागमा ५ किलोमिटरमा स्वर्ण जितेका उनले मिडिल अडरको दौड छाडेको बताए । उनले म्याराथनमा मात्र कीर्तिमान भएकाले त्यो ब्रेक गर्न आफूले मिडिल अडरको दौड छाडेको बताए । आफू जन्मिनुभन्दा दुई वर्षअगाडि बनेको कीर्तिमान ब्रेक गर्नु आफ्ना लागि पनि कोसेढुङ्गा नै साबित हुने उनको बुझाइ छ । 

सन् २००६ मा श्रीलंकामा भएको दसौं सागमा नेपालका लागि धावक राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर, त्यसको केही दिनपछि उनको त्यो पदक खोसिन पुग्यो । राजेन्द्रले प्रतिबन्धित शक्तिवर्द्धक औषधि प्रयोग गरेको भन्दै उनको पदक खोसिएको थियो ।  राजेन्द्रपछि सागको ५ हजार मिटर दौडमा नेपालका कुनै पनि खेलाडीले स्वर्ण जित्न सकेका थिएनन् । तर, घरेलु भूमिमा भएको १३औं पार्कीले ५ हजार मिटर दौडमा सागमा भएको स्वर्ण खडेरीको अन्त्य गरे । उनले १४ वर्षपछि सागमा खोसिएको ५ हजार मिटर दौडको स्वर्ण फिर्ता ल्याएका थिए । पार्कीले ५ हजार मिटर दौड १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए ।