बैतडीमा २३ लाख मूल्यका अवैध सामान बरामद, ११ जना समातिए
2020/11/23, 8:25
 
death

सीमानाका बन्द रहेको बेला गत चैतदेखि हालसम्म बैतडीमा २३ लाख रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद गरिएको छ। लकडाउन तथा सीमानाका बन्द रहेको अवस्थामा भन्सार छलेर अवैध रूपमा भित्र्याएका सामान प्रहरीले बरामद गरेको हो।  महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छलेर नेपाल भित्र्याइएको २३ लाख बढीको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख एवम्‌ प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘सीमानाका बन्द रहेको अवस्थामा प्रहरीले सीमाक्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेको हो, गएको चैत यता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर ८ पटक प्रहरीले सामान बरामद गर्‍यो। ’

बढीजसो भारतीय बिँडी, चप्पल, कपडा बरामद गरिएको र सामानका साथै ११ मान्छे र २ गाडीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणमा लिइएका मानिस, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकी बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गस्ती बढाइयो

कोरोना महामारीका कारण सीमानाका बन्द रहेका बेला भारतबाट अवैध रूपमा मालसामान भित्रिन थालेपछि बैतडी प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। नाका बन्द रहेका बेला तस्करी भइरहेको भन्दै प्रहरीले सीमाक्षेत्रमा प्रहरीको गस्ती बढाएको हो।

महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकोले सीमा क्षेत्रमा कडाई गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। महाकाली नदी क्षेत्रको शेरा, पञ्चेश्वर,शिवनाथलगायतका भारतसँग सीमा जोडिएको क्षेत्रमा प्रहरीको गस्ती टोली परिचालन गरिएको हो।