९ घण्टाका लागि खुल्यो खलङ्गा नाका, एकदिनमै रित्तियो प्याज र चिनी
2020/11/24, 10:32
 
death

नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ । भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले सहमति जनाएपछि सीमा नाका खोलिएको हो ।

यसअघि नै मंसिर ३ गते सीतापुल नाका खोल्न र मंगलबार सदरमुकाम खलङ्गाको नाका खोल्न नेपाली प्रशासनले भारतीय प्रशासनलाई अनुरोध गरेको थियो ।  सोही अनुसार भारतीय प्रशासनले सहमति जनाएको हो । सीमा नाका खोलिएसंगै भारतमा किनमेल गर्नेहरु नेपालीहरुका लागि मौका जुरेको छ । ब्याँसी सौका समुदायका लागि भन्दै खोलिएको सीमा नाकाबाट भारतमा किनमेल गर्न जाने नेपालीहरुले मौका पाएका हुन् ।

केही सामग्रीहरु भारतमा नेपालको तुलनामा सस्तो पर्ने भएकाले दार्चुलाका सर्वसाधारणहरु मात्र नभई व्यापारीहरु पनि भारतमा किनमेल गर्न रुचाउने गरेका हुन् । भारतमा मुख्यगरी खाद्या सामग्री र तरकारी सस्तो पर्ने गरेको छ । खाद्यान्न चामल, पिठो, चिनी, साबुन सस्तो पर्ने गरेको छ ।  मसिनो चामलको मूल्य भारतमा ६४ रुपैयाँ नेपाली र नेपाली बजार क्षेत्रमा मसिनो चामलको मूल्य ७० देखि ७५ रुपैयाँ पर्ने गरेको छ । भारतीय बजार क्षेत्रमा सबैभन्दा चिनी सस्तो पर्ने गरेको छ । भारतीय बजार क्षेत्रमा चिनीको मूल्य ४० रुपैयाँ भारु अर्थात् ६४ रुपैयाँ नेपाली पर्ने गरेको छ ।

नेपाली बजारमा भने चिनीको मूल्य सय रुपैयाँ कायम गरिएको छ । तरकारीमध्ये प्याज पनि भारतमा सस्तो पर्ने गरेको छ । प्याज भारतीय बजार क्षेत्रमा ८० रुपैयाँ भारु अर्थात् १ सय ३० रुपैयाँ नेपाली पर्ने गरेको छ । तर नेपाली बजार क्षेत्रमा एक किलो प्याजको मूल्य २ सय पर्ने गरेको छ । यसले गर्दा पनि नेपाली सर्वसाधारणहरुदेखि व्यापारीहरु भारतमा किनमेल गर्न जाने गरेका छन् ।

सीमा नाका खोलिएसंगै नेपाली बजारमा पनि किनमेल गर्ने भारतीयहरुको संख्या बढेको छ । कोरोनाका कारण बन्द रहेको सीमा पुल पहिलो पटक नौ घण्टासम्म खोलेसँगै भारत जान नेपालीहरुलाई हतार भएजस्तै भारतीय नागरिकहरुलाई पनि नेपाल आउने हतार भएको स्पष्ट देखिन्छ । सीमा नाका खुलेको केही समय पश्चात् नेपाली बजार क्षेत्रमा किनमेल गर्ने भारतीय नागरिकहरुको भीडभाड बढेको थियो । सीमा नाका बन्द रहेको अवस्थामा भन्दा आज बढी व्यापार भएको नेपाली व्यापारीहरुको भनाई छ ।