भारतीय कामदार कुर्दै इँटा उद्योग
2020/11/24, 10:46
 
itta

यतिबेला इँटा उद्योगहरूमा काचो इँटा बनाउनेदेखि भट्टामा आगो बाल्ने तयारीका लागि भ्याई नभ्याई हुन्थ्यो । भारतबाट चाँडो मजदुर मगाउन सक्नेहरू काँचो इँटा पोल्ने अन्तिम तयारीमा हुन्थे । तर यसपटक कोरोना संक्रमणका कारण भारतीय मजदुरहरू आउन नसक्दा काम नै सुरु हुन सकेको छैन । कञ्चनपुरका इँटा उद्योगहरूमा काम गर्ने भारतीय कामदारहरू बर्खा लाग्नु अगावै घर फर्केका हुन । नाका बन्द भएकै अवस्थामा घर गएका उनीहरू अझै फर्किन सकेका छैनन । 

‘भारतबाट कामदार आएका छैनन्, नेपाली कामदारहरू सक्षम नभएकाले काँचो इँटा पनि बनाउन सकिरहेका छैनन्,’ भीमदत्त नगरपालिका–२ स्थित भुवनेश्वरी इँटा उद्योगका कर्मचारी नरेश मालीले भने, ‘भट्टालाई चाहिनेजति कामदार पनि पाएका छैनौं ।’ उनको उद्योगमा अहिले कैलालीको हसुलियाका नौ जना कामदार छन् । दसैंपछि काम सुरु गरेका उनीहरूले हालसम्म एकरडेढ हजार मात्रै काँचो इँटा बनाएको मालीले बताए । ‘भारतबाट आउने कामदार नभई इँटा उत्पादन गर्नै सकिँदैन,’ महाकाली इँटा तथा टायल व्यवसायी संघका अध्यक्ष वलदेव बुडालले भने, ‘हामीसँग दस प्रतिशत पनि स्वदेशी कामदार छैनन्, यस पटक भारतीय कामदार नआउँदा इँटा उत्पादन पनि ढिलो हुने भएको छ ।’ 

उनका अनुसार भुसे भट्टादेखि चिम्नी र जिकज्याकलगायत सबै किसिमका भट्टामा उत्पादनको काम भारतीय कामदारले नै धानेका छन । पछिल्लो पटक सरकारले उत्पादनमूलक उद्योगका कामदारलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ल्याउन अनुमति दिएको छ । तर हालसम्म इँटा उद्योगका कामदारहरू आइसकेका छैनन । ‘हामीले अहिलेसम्म काँचो इँटा पोल्न आगो बाल्ने योजना बनाएका थियौं तर कामदारकै अभावमा ढिलो भयो,’ बुडालले भने, ‘अब मौसमले साथ दिएमा माघ फागुनमा मात्रै उत्पादन गर्न सकिन्छ ।’ उनका अनुसार केही उद्योगमा थोरै संख्यामा भारतीय कामदार आए पनि अधिकांशमा काम बन्द नै छ ।

कैलाली र कञ्चनपुरमा ८० भन्दा बढी इँटा उद्योग दर्ता छन । तीमध्ये ७५ जति सञ्चालनमा छन । एउटा उद्योगमा एकरडेढ सयको संख्यामा कामदार आवश्यक पर्ने बुडाल बताउँछन् । कैलाली कञ्चनपुका उद्योगका लागि भारत उत्तर प्रदेशको लखिमपुर, बरेली र पिलिभित लगायतका क्षेत्रबाट कामदारहरू आउने गरेका छन ।