विदेशबाट आएका थिए सुदूरपश्चिमका १५ जना कोरोना संक्रमित
2020/05/28, 3:30
 
korona

आज चार जनामा कारोना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा विदेशबाट आएका १५ जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १४ जना भारतबाट आएका हुन् । एक जना मात्रै तेस्रो मुलुक दुवईबाट आएका हुन् । ७३ दिनयता विभिन्न मितीमा आएका १५ जनामा कोरोना पुष्टि भएको हो । जुन प्रदेशमा देखिएका कुल कोरोना संक्रमितको झण्डै ७१ प्रतिशत हुन्छ ।

अहिलेसम्म २१ जनामा कोरोना पुष्टि भएकोमा १३ जना भारतबाट फर्किएका पुरुष र एक बालिका गरी १४ जना रहेका छन । यस्तै एक जना युएईबाट फर्किएका पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयक अनुसार आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका तीन जना पुरुष र दुई जना महिलामा पनि कोरोना पुष्टि भईसकेको छ । बझाङका संक्रमितको ट्राभल हिस्ट्री भने स्वास्थ्य मन्त्रालयले अझै खुलाएको छैन । 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए । 

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन ।  जेठ ९ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । १३ गते सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी दुई जनामा कोरोना पुष्टि भएको थियो ।
अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि ११ गते कोरोना संक्रमण पुष्टि भईसकेको थियो। कैलालीका संक्रमित पनि भारतबाट आएका थिए । आज मात्रै पुष्टि भएका चार जनामा तीन जना भारतबाट फर्किएका हुन ।

दार्चुलाका २१ बर्षीय संक्रमित धारचुला–दार्चुला नाकाबाट आएका थिए भने कैलालीका ३५ र ३० बर्षीय संक्रमित जेठ ३ गते त्रिनगर र खक्रौला नाकाबाट आएका थिए। बझाङका संक्रमितको ट्राभल हिस्ट्री खुलेको छैन । अहिले प्रदेशमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । ६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा, दार्चुला र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।