धनगढी–अत्तरिया औद्योगिक करिडोर निर्माणको प्रक्रिया अघि बढ्यो 
गुरुयोजना बनाउन ४ परामर्शदाता छनौट
2020/11/29, 6:53
 
industrial area dpr

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गुरुयोजना तथा विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाएको हो । 

मन्त्रालयले यसअघि सो औद्योगिक क्षेत्रको गुरुयोजना निर्माण गरी त्यसको डीपीआर तयार गर्नको लागि इच्छुक परामर्शदाता कम्पनीसँग आशयपत्र मागेको थियो । यसका लागि १५ वटा परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीमध्येबाट ४ जनालाई सर्टलिष्ट गर्दै मन्त्रालयले डीपीआरका लागि एक महिनाभित्र प्रस्ताव पठाउन भनेको छ ।  

मन्त्रालयले असोजमा त्यस्तो आशयपत्र माग गरेको थियो । आशयपत्र पेश गरेकामध्ये ३ देखि ६ वटा परामर्शदाता कम्पनीलाई छनौट गर्नुपर्ने सार्वजनिक खरिद ऐनको व्यवस्था बमोजिम मन्त्रालयले ४ वटा कम्पनीलाई छनौट गरेर प्रस्ताव माग गरेको हो । छनौटमा पर्नेमा इकोकोडीई नेपाल, नेस्ट–पिकास्को, मल्टिी पारागन र टीएईसी–एफसीबी नामक कम्पनीहरु परेका छन् ।  चालु आर्थिक वर्षभित्र डीपीआर तयार गरेर अर्को वर्षदेखि पूर्वाधार निर्माणको काम थाल्ने गरी मन्त्रालयले तयारी अघि बढाएको हो ।