आयोजक भन्छन्– ‘क्यानको क्यालेन्डरको प्रतीक्षामा छौं ।’
अनिश्चित धनगढी प्रिमियर लिग
2020/11/29, 12:59
 
DPL

नेपालकै ठुलो र पहिलो फ्रेन्चाईज क्रिकेट लिग धनगढी प्रिमियर लिग अनिश्चित भएको छ । गत फागुनमै आयोजना हुनुपर्ने डिपिएल पछिल्लो दुई बर्षदेखि आयोजना हुन सकेको छैन् । या लिगको तेस्रो संस्करण २०७५ सालको चैतमा आयोजना भएको थियो । लिगको चौथो संस्करण अघिल्लो बर्षको फागुनमा आयोजना गर्ने घोषणा आयोजक धनगढी क्रिकेट एकेडेमीले गरेको थियो । तर सो अवधिमा आयोजना गर्न नसकेपछि असोजमा आयोजना गर्ने भन्दै मिति सारिएकोमा सो अवधिमा पनि लिग आयोजना हुन सकेन् ।

कोभिड–१९ का कारण सबै खेलकुद गतिविधि बन्द भएका बेला बहुप्रतिक्षित डीपीएलको चौथो संस्करणको मिति तय हुन सकेको छैन् । आयोजकले भने डिपिएलको मिति क्यानको ‘क्यालेण्डर’ले गर्ने आयोजक संस्था धनगढी क्रिकेट एकेडमीले जनाएको छ । ‘आयोजक संस्था तयारी अवस्थामा छ,’ एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने, ‘क्यानको क्यालेन्डर आएपछि डीपीएलको चौथो संस्करणको आयोजना गरिने छ । क्यानको क्यालेन्डर प्रतीक्षामा छौं ।’

धनगढी क्रिकेट एकेडेमीले सन् २०१३ बाट सुरु गरेको धनगढी क्रिकेट लिगलाई विस्तारित रूप दिँदै सन् २०१७ देखि धनगढी प्रिमियर लिग सुरु गरेको हो । अहिलेसम्म धनगढीमै यसका तीन संस्करण पूरा भएको छ । सुदूरपश्चिम एकेडेमीले २५ हजार पुरस्कार राशिको कलेजस्तरको राष्ट्रिय एसपीए क्रिकेट प्रतियोगिता २०१० देखि सुरु गरेको थियो । सुदूरपश्चिम एकेडेमीका प्रबन्ध निर्देशक शाहीको नेतृत्वमा धनगढीलाई क्रिकेट सहरको पहिचान दिन जन्मेको धनगढी क्रिकेट एकेडेमीले सन् २०१३ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने गरी धनगढी क्रिकेट लिगको आयोजना सुरु गरेको हो ।

लिगको पाँचौं संस्करणबाट धनगढी प्रिमियर लिग भएको हो । हरेक बर्ष पुरस्कार राशी बढाउँदै तेस्रो प्रिमियर लिग विजेताले ३० लाख रुपैयाँ पाएको थियो । कुल पुरस्कार राशि ६० लाख थियो । करिब ७ करोडको लागतमा डीपीएलको तेस्रो संस्करण सम्पन्न भएको थियो । तेस्रो संस्करण फाइनलमा १० हजार क्षमताको प्यारापिट भरिएर ५ हजारभन्दा बढी दर्शकले टिकट नपाएर फर्कनुपरेको थियो ।

‘हामी आफैं एनपीएल गर्न सक्छौं’
नेपालमा व्यावसायिक क्रिकेटको सुरुआत गर्ने धनगढी क्रिकेट लिग (डीपीएल) को आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना लाइसेन्स विदेशी कम्पनीलाई दिन नहुने धारणा सार्वजनिक गरेको छ । डीपीएल आयोजक तथा संयोजक सुवास शाहीले एनपीएल आयोजना गर्न विदेशी कम्पनीलाई दिँदा नेपाल क्रिकेट संघ (क्यान) को आफ्नो मात्रै नभएर नेपाल र नेपालीको हित नहुने बताएका छन ।

‘नेपालको क्रिकेटमा पहिलोपल्ट अक्सन प्रणालीबाट डीपीएलको आयोजना हामी आफैंले गर्न सक्यौं,’ उनले प्रश्न गर्दै भने, ‘समग्र क्रिकेट विकासको जिम्मा लिएको क्यानले एनपीएल किन गर्न सक्दैन ?’ एनपीएलले नेपाली क्रिकेटलाई एक अर्को उचाइमा पु¥याउने भएकाले यसको आयोजना क्यान आफैंले गर्नु उचित हुने शाहीको धारणा छ । ‘४२ करोड ठूलो होईन, क्यानले आर्थिक हिसाब किताबबाट पनि १० वर्षमा एनपीएल आयोजनाबाट अर्बौंको फाईदा लिन सक्छ,’ उनले भने, ‘यसका लागि हाम्रो डीपीएल संस्करणको अध्ययन गर्दा समेत हुन्छ ।’

उनले डीपीएल एक ‘इम्प्याक्ट म्यानेजर’ र एनपीएल ईभेन्ट म्यानेजर भएको बताए । एनपीएल नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय लेभलमा लैजाने ठूलो इभेन्ट भएको दाबी गरे । ‘हाम्रो (डीडीएल) को उद्देश्य नेपाली क्रिकेटलाई व्यावसायिक उचाइमा पुगाउने थियो भने अर्कोतिर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान (ड्रिम फाप्ला) को निर्माण गर्नका थियो,’ संयोजक शाहीले भने, ‘डीपीएलका चार संस्करणबाटै दुवै उद्देश्यलाई हामीले छोएका छौं ।’ त्यसैले पनि एनपीएलको आयोजना सकेसम्म क्यान आफैंले गर्दा राम्रो हुने शाहीले सुझाए ।

‘नेपालमा क्रिकेट र क्रिकेटप्रेमीको बहुप्रतिक्षित र चर्चित लिगको रूपमा स्थापित भईसकेको डीपीएलको आयोजना नेपालीकै सहयोगबाट भएको हो भन्ने पक्ष क्यानले बुझ्न आवश्यक छ ।’ उनले भने । डीपीएल कसरी जन्मियो त ? इतिहास पल्टाएर हेर्दा सामान्य क्रिकेटमा रुचि राख्ने चिया पसलेले गरेको सहयोगलाई लिन सकिने शाहीको तर्क छ । ‘एसपीए कपका उत्कृष्ट खेलाडीका प्रायोजकको सूचीमा चिया पसले पनि छन्,’ उनले भने, ‘एसपीए कपबाट जन्मेको हो डीपीएल जो सवैलाई थाहा छ ।’ एनपीएल आयोजनाका लागि क्यानले सानो रकम उठाउनुपर्दैन नेपालकै औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानले लगानी गर्ने उनले बताए ।

‘विदेशी कम्पनीलाई नै लाइसेन्स दिने कुराले क्यान आफ्नो असक्षमता मात्रै प्रकट गर्न खोज्दैछ,’ उनले भने, ‘क्यानसँंग दृढ इच्छाशक्ति र आयोजना गर्न सकिने साहसको कमी रहेको ठान्दछु ।’ संयोजक शाहीले आफूले आयोजना गर्नै नसक्ने असक्षमता प्रकट गर्छ भने क्यानले पहिला राष्ट्रियस्तरबाट आयोजनाको प्रस्ताव माग्नुपर्ने बताए । ‘राष्ट्रियस्तरबाट दाबी नभएपछि मात्रै ‘ग्लोबल’ टेण्डर आह्वान गर्न सकिन्छ ।’ उनले भने ।

ड्रिम फाप्ला
‘धनगढी क्रिकेटको सहर’को नाममा परिचय दिने अभियान अन्तर्गत ‘ड्रिम फाप्ला’ ले अन्तर्राष्ट्रियस्तरको खेल मैदानको सपना को¥यो । डीपीएलको तेस्रो संस्करण पनि फाप्ला क्रिकेट मैदानमा सम्पन्न भएको थियो । ‘धनगढी उपमहानगरपालिका–३ मा पर्ने फाप्ला मैदाननै ड्रिम फाप्ला हो,’ अभियन्ता सुवास शाहीले भने, ‘ड्रिम फाप्ला अभियान पूरा हुने चरणमा पुगेको छ ।’ उनले वनबाट जग्गा प्राप्तिको चरण पूरा भएपछि त्यहाँ भौतिक संरचनाको काम अघि बढ्ने बताए ।

‘पब्लिक पार्टनरसिप’को मोडालिटीबाट ‘ड्रिम फाप्ला’को स्टेडियम तयार हुने उनले बताए । प्रदेश र केन्द्र सरकारले दुई वर्षदेखि फाप्ला क्रिकेट स्टेडियमको नाममा थोरै बजेट पनि विनियोजित गर्दै आएको छ । तर जग्गा प्राप्ति र कुन मोडालिटीको रूपमा सञ्चालन गर्ने विषय टुंगी नसकेकाले बजेट फ्रिज भइरहेको थियो ।