कोरोना कहरले मह व्यापारमा वृद्धि
2020/11/30, 2:15
 
corona

कोरोना कहरले विभिन्न क्षेत्र लगायत मानव जीवन नै अस्तव्यस्त भएको बेला मह व्यापार भने चम्केको छ । रोगबाट जोगिनका लागि मह सेवन फलदायी हुने भएकाले महको व्यापार चम्केको हो । व्यावसायिक रुपमा मौरी पालन गरिरहेका कैलालीका कृषकलाई यति बेला महको माग धान्नै मुस्किल भएको छ । 

कोरोना महामारीको क्रममा महको माग बढेपछि किसानलाई माग अनुसार मह उपलब्ध गराउन धौ–धौ भएको हो । कोरोना भाइरसको महामारी सुरु भएसंगै महको माग उच्च रहेको उनीहरुले बताएका छन् । ‘महामारी सुरु भएपछि महको माग ह्वात्तै बढ्यो’, गौरीगङ्गा नगरपालिका–९ का मौरी पालक कृषक मोहनराज खनालले भने । ‘माग अनुसार हामीले मह उत्पादन नै गर्न सकिरहेका छैनौं ।’ 

किसानका अनुसार विगत वर्षमा एक सिजनमा उत्पादित सम्पूर्ण मह बिक्री गर्न एक वर्षसम्म लाग्ने गर्दथ्यो । तर, यो वर्ष घारबाटैै मह बिक्री भइरहेको छ । मह किन्ने व्यक्तिहरुले रुपैयाँ अग्रिम बुझाउने गरेको खनालले बताए । ‘हामीले मह काढ्नु अगाडि नै उपभोक्ताले हामीलाई पैसा बुझाइरहेका छन्’, उनले भने । ‘यो वर्ष त व्यापारीहरुको हातसम्म मह पुग्नै पाएको छैन । गाउँघरकै मान्छेले धमाधम खरिद गरिरहेका छन् ।’ तोरी सिजनमा पहिलो पटक निकालेको मह मौरीको घार राखिएकै ठाउँबाट बिक्री भएको खनालले सुनाए । 

 ‘मैले मौरी चराउन दाङसम्म पु¥याएको थिएँ’, उनले भने । ‘उता, निकालेको मह सबै उतै बिक्री भयो ।’  महामारीका कारण महको मागमात्रै बढेको छैन, मूल्यसमेत वृद्धि भएको छ । थोक खरिदबिक्रीमै प्रति केजीमा एक सय रुपैयाँ मूल्य वृद्धि भएको किसानले बताएका छन् । थोकमा प्रति केजी चार सय र खुद्रामा छ सय रुपियाँमा यो वर्ष मह बिक्री भइरहेको उनीहरुको भनाइ छ । 

महले रोगसंग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउने गरेको बताइन्छ । अदुवा वा तातो पानीमा मिसाएर मह खाँदा रुघाखोकीका विरामीलाई फाइदा हुने गरेकाले महामारीको बेला महको माग उच्च भएको अर्का कृषक घनश्याम पौडेलले बताए । ‘कोरोना सङ्क्रमित व्यक्तिलाई महले फाइदा हुने गरेको कुरो आएपछि हामीसंग मह स्टक नै हुन पाएको छैन’, उनले भने । ‘विगतमा जेठमा निकालेको मह कार्तिक, मङ्सिरसम्म बिक्री गर्ने गर्दथ्यौँ । यो वर्ष जेठमै बिक्री भयो । अहिले त झनै माग बढी छ ।’ 

किसानहरुका अनुसार कैलालीमा ५० हजार घार मौरीपालन गर्न सक्ने क्षमता छ । तर, क्षमतानुसार मौरीघार छैन । जिल्लाभरिका गरेर बढीमा यहाँ सात÷आठ हजार मौरीको घार रहेको हुन सक्ने पौडेल बतायँछन् । ‘हामी कहाँ क्षमतानुसार मौरी घार नरहेको र उत्पादन बढी नहुने गरेका कारणले पनि अहिले माग धान्न गाह«ो भएको हो’, उनले भने । त्यसो त, जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने कृषक सङ्ख्या नै थोरै रहेको छ ।

५० घारभन्दा बढी मौरी राखेकालाई व्यावसायिक रुपमा मौरीपालनमा अग्रसर भएको मान्दै आएको किसानले जनाएका छन् । जिल्लामा त्यस्ता मौरीपालक कृषकको सङ्ख्या बढीमा १५ रहेको बताइएको छ । तर, ५० भन्दा कम मौरीघार राखेर मौरीपालन गर्ने व्यक्तिको सङ्ख्या धेरै रहेको जनाइएको छ । 

जिल्लामा बढी मौरीपालन गर्ने कृषक खनालसंग १६८ वटा मौरी घार छ । तोरी सिजनमामात्रै उनले १०÷११ क्वीन्टल मह उत्पादन गर्दै आएका छन् । यो वर्ष २०÷२५ क्वीन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उनले जनाए । ‘गत विगतमा मैले सिजनमा पाँच÷छ लाख रुपियाँसम्म आम्दानी गरेको थिएँ’, उनले भने । ‘यो वर्ष मौरी बढेकाले १०÷१२ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको छु ।’ 

एक मौरी घारबाट कम्तीमा १५ केजीसम्म मह उत्पादन हुने गरेको छ । तर, चरन र व्यवस्थापनमा ध्यान दिएमा एकै घारबाट २५ केजीसम्म मह उत्पादन हुने गरेको किसानहरु बताउँछन् । उनीहरुले तोरी, सिसम, जामुन र रुजिलोको फूलमा मौरी चराएर मह उत्पादन गर्दै आएका छन् । सबैभन्दा राम्रो मह जामुनको फूलबाट उत्पादन हुने गरेको कृषक पौडेलले बताए ।  

मौरीले बोटविरुवाको परागसेचन कार्यमा सहयोग गर्दै आएका छन् । तर, स्थानीय कृषकमा चेतनाको कमीका कारण जिल्लामा मौरी चरन र व्यवस्थापनमा समस्या पनि हुने गरेको छ । कतिपय किसानले आफ्नो तोरीमा मौरी चराउन नदिने गरेको गौरीगङ्गा नगरपालिका–८ का मौरीपालक कृषक उमानन्द खनालले बताए । ‘मौरीले तोरीको फूल झार्ने र तोरी उत्पादन घट्ने भनेर धेरैले तोरीबारीमा मौरी लानै दिदैंनन्’, उनले भने ।