सुदूरपश्चिमको राजधानीमा पूर्वाधार विकास गर्न बजेट, जग्गाको भोगाधिकार भने अझै हुन सकेन
2020/05/28, 7:26
 
bughet

सरकारले सुदूरपश्चिमको राजधानीमा पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सुदूरपश्चिमको राजधानीमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरेका हुन ।

उनले आगामी आर्थिक वर्षभित्रै सो कार्य सम्पन्न हुने जानकारी दिएका छन् । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय भएको थियो । असोज १२ गते प्रदेश सभाबाट दुई तिहाई बहुमतले कैलालीको गोदावरी जंगलमा राजधानी बनाउने निर्णय भएको थियो । तर अहिलेसम्म प्रदेश सरकारले जग्गाको भोगाधिकार समेत पाएको छैन ।

प्रदेश सरकारले गोदावरीमा राजधानी राख्ने निर्णय कार्यान्वयनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाए पनि अहिलेसम्म जग्गाको भोगाधिकार नपाएको हो । राजधानीको चार किल्ला तोकिएको गोदावरी नगरपालिका वडा २ र ४ को जग्गा प्रदेश सरकारको मातहतमा ल्याउनका लागि नापी, मालतपोत र बन कार्यालयले जग्गाको कागजात तयार पारेका थिए ।

तर प्रदेश सरकारले अहिलेसम्म जग्गाको भोगाधिकार भने पाएको छैन । प्रदेश सभाले बहुमतले पारित गरेको निर्णय अनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ र ४ मा राख्नका लागि तेघरी सामुदायिक वनको ३ सय ४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ । त्यस्का लागि कित्ता नम्वर, ब्लु प्रिन्ट, नक्सा, स्केच सहित जग्गाका कागजपत्रहरु तयार पारिएको छ ।