सुदूरपश्चिम प्रदेशको बजेट खर्च र राजस्व संकलन बढ्यो
2020/12/02, 9:06
 
badget

चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च गत आवको सोही अवधिको भन्दा बढेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेटको ६ दशमलव २९ प्रतिशत कार्यान्वयन गरेको छ । गत आवको यसै अवधिमा कुल बजेटको ४ दशमलव ५३ मात्र खर्च भएको थियो ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको कुल ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेटमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीतर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो, जसमध्ये चालूतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार र पूँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च भएको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा प्रदेशका विषयगत मन्त्रालयहरूको बजेट कार्यान्वयन औसत ६ दशमलव २९ प्रतिशत देखिएको छ । सो अवधिसम्ममा भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयन ८ दशमलव २५, सामाजिक विकास मन्त्रालयको ८ दशमलव शून्य ८, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका ४ दशमलव २९, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ७ दशमलव ४५, आर्थिक मामिला तथा योजना मन्त्रालयको शून्य दशमलव ८१, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ दशमलव २९ र आन्तिरिक मामिला तथा कानून मन्त्रालयको ८ दशमलव ८८ प्रतिशत बजेट कार्यान्वयन भएको पाइएको छ ।

त्यस्तै प्रदेश सभा सचिवालयको १९ दशमलव ५१ प्रतिशत र वित्तीय हस्तान्तरण स्थानीय तहमा ८ दशमलव ५१ प्रतिशत खर्च भएको देखिएको छ भने वित्तीय व्यवस्था र अर्थ व्यवस्था अन्तर्गतको प्रगति शून्य रहेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गतवर्षको तुलनामा यस वर्ष चालू र पूँजीगत बजेट कार्यान्वयन बढेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको राजस्व असुलीमा पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारले ६७ करोड ७० लाख ३० हजार राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ३१ करोड ९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । प्रदेश सरकारले करको दर घटाएर दायरा विस्तार गरेकाले राजस्व संकलनमा वृद्धि भएको मन्त्री बोहराले बताए ।