बजेटमा सुदुरपश्चिमः नयाँ योजना छैन, पुरानै योजनाहरुलाई निरन्तरता (बजेटको पुर्ण पाठ सहित)
2020/05/28, 7:54
 
bughet

संघीय सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुदूरपश्चिमका लागि कुनै नयाँ योजना परेको छैन । आगामी आर्थिक बर्षको बजेटमा अधिकांश पूरानै योजनाले निरन्तरता पाएका छन । संघीय सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सुदूरपश्चिमका अधिकाश पूरानै योजनाले निरन्तरता पाएका हुन । पुराना योजनाहरु कार्यान्वयन हुने भन्दा पनि आशा मात्रै देखाउने रहेका छन । सुदूरपश्चिममा बजेट भाषण मार्फत अधिकाशं पुरानै योजनाले प्राथमिकता पाएपछि कार्यान्वयनमा आशंका गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वषाँैदेखि अलपत्र परेको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र कर्णाली चिसापानी जलविद्युत आयोजनाको लगानी यकिन गरी अगामी वर्ष कार्यान्वयनमा लैजाने घोषण गरे । महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्दै १० अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

खुटिया–दिपायल–चैनपुर–उरै सडक निर्माणसँगै प्रदेश सरकारसँगको सहकार्यमा वीपीनगर– खुटिया–दीपायल सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन, सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार विकास गर्न, डडेल्धुरा अस्पतालमा विशिष्टकृत सेवा सञ्चालन गर्न पूर्वाधार निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

यस्तै निर्माणाधीन गेटा मेडिकल कलेज अगामी वर्ष भित्रै सञ्चालन गरी सिकलसेल एनिमिया अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने समेत सरकारले बजेट भाषण मार्फत घोषणा गरेको छ भने कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था गरिएको छ । कञ्चनपुरमा निर्माणाधीन ४ लेनको महाकाली पुलका लागि थप ८८ करोड बजेट विनियोजन गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नति एवंम रात्रीकालीन उडान योग्य बनाउन पनि बजेट व्यवस्था गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । यस्तै सरकारले पञ्चेश्वर परियोजनालाई  अगाडी बढाउन पनि आवश्यक बजेटको व्यवस्थापन गरिएको घोषणा गरेको छ । 

राजधानीमा पूर्वाधार विकास गर्न बजेट
सरकारले सुदूरपश्चिमको राजधानीमा पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सुदूरपश्चिमको राजधानीमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरेका हुन । उनले आगामी आर्थिक वर्षभित्रै सो कार्य सम्पन्न हुने जानकारी दिएका छन् । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय भएको थियो । असोज १२ गते प्रदेश सभाबाट दुई तिहाई बहुमतले कैलालीको गोदावरी जंगलमा राजधानी बनाउने निर्णय भएको थियो । तर अहिलेसम्म प्रदेश सरकारले जग्गाको भोगाधिकार समेत पाएको छैन ।

प्रदेश सरकारले गोदावरीमा राजधानी राख्ने निर्णय कार्यान्वयनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाए पनि अहिलेसम्म जग्गाको भोगाधिकार नपाएको हो । राजधानीको चार किल्ला तोकिएको गोदावरी नगरपालिका वडा २ र ४ को जग्गा प्रदेश सरकारको मातहतमा ल्याउनका लागि नापी, मालतपोत र बन कार्यालयले जग्गाको कागजात तयार पारेका थिए । तर प्रदेश सरकारले अहिलेसम्म जग्गाको भोगाधिकार भने पाएको छैन । प्रदेश सभाले बहुमतले पारित गरेको निर्णय अनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ र ४ मा राख्नका लागि तेघरी सामुदायिक वनको ३ सय ४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ । त्यस्का लागि कित्ता नम्वर, ब्लु प्रिन्ट, नक्सा, स्केच सहित जग्गाका कागजपत्रहरु तयार पारिएको छ ।

धनगढी विमानस्थल स्तरोन्नतिका लागि बजेट 
धनगढी विमानस्थलको स्तरोन्नतीका लागि थप बजेट विनियोजना गरिएको छ । सरकारले बजेट भाषण मार्फत विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको घोषणा गरेको हो । अर्थमन्त्री युवराज खतिवडाले विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउनका लागि बजेट व्यवस्थापन गरिएको घोषणा गरेका हुन् । अहिले पनि धनगढी विमानस्थल स्तरोन्नतीको काम चलिरहेको छ । धनगढीमा प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई समाधान गर्ने भीओआर–डिएमई जडान गरिएको छ तर परिक्षण गर्न बाकी रहेको छ ।

जाईकाले २०७५ सालकै माघदेखि भीओआर–डिएमई उपकरण जडानको काम सुरु गरेकोमा २०७६ फागुनमा सकेको थियो । १६ सय भिजिविलीटीमा पनि जहाज अवतरण गर्न सकिने भएपनि लकडाउनका कारण परीक्षण गर्न बाकी रहेको विमानस्थल कार्यालयले जनाएको छ। २०७४ साल चैत ११ गते बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको थियो । त्यसअघि धनगढी विमानस्थलमा पँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिबिलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो । भीओआर–डिएमई उपकरणको परीक्षण सफल भए प्रतिकुल मौसमसंगै १६ सय भिजिविलीटीमा उडान भर्ना सकिने छ ।

महाकाली पुलका लागि ८८ करोड बजेट 
सरकारले चार लेनको महाकाली पुलका लागि ८८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा आगामी आवमा सक्ने गरी पुलका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन । हाल आगामी जेठभित्र निर्माण सक्नुपर्ने गरी पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलका लागि ९० करोड रकम विनियोजन भएपनि हालसम्म ४० करोड खर्च भएको योजना कार्यालयले जनाएको छ । लकडाउन अवधिमा काम गर्ने अवस्था नरहे चालु आर्थिक वर्षमा पुलको रकम समेत फ्रिज हुने अवस्थामा रहेको छ । 

पश्चिम सेतीका लागि लगानी यकिन गरिने
सरकारले पश्चिम सेती जल विद्युत योजनामा लगानी यकिन गरि कार्यान्वयन गर्ने बताएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।  ३६ वर्षसम्म तीन देशका तीन कम्पनीले अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘नयाँ मोडल’ को खोजी मै अलमलमा परेको छ । यसअघि लगानी बोर्डको सञ्चालक समितिको बैठकले आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गरेको थियो। अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी सम्मिलित समिति गठन भएको थियो ।  थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको थियो । तर सो समितिले पनि कुनै काम गर्न सकेन ।

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याईने
सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन । साथै उनले मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने समेत बताए । सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग हो । 

महाकाली सिँचाई आयोजनाका लागि सवा १० अर्ब 
सरकारले महाकाली सिचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । सो आयोजनालाई सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयँ बजेट विनियोजन गरेको छ

हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने
सरकारले कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाउने बताएका हुन । 

जडीबुटी विकास विशेष कार्यक्रम
सरकारले सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम ल्याउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सुदूरपश्चिममा जडीबुटी उत्पादन, प्रशोधन र बजारीकरण गर्ने योजना ल्याएको बताएका छन् । 

कर्णाली चिसापानीमा लगानी एकिन
सरकारले बर्षौदेखि अलपत्र कर्णाली चिसापानी आयोजनाका लागि लगानी पक्का गर्ने भएको आज प्रस्तुत बजेटमा कर्णाली चिसापानी जलविद्युत आयोजनाको लगानी यकिन गरी अगामी वर्ष कार्यान्वयनमा लैजाने घोषण गरे । 

पञ्चेश्वर परियोजनालाई  अगाडी बढाउन बजेट
सरकारले पञ्चेश्वर परियोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको । सरकारले आज प्रस्तुत गरेको बजेटमा सरकारले पञ्चेश्वर परियोजनालाई  अगाडी बढाउन पनि आवश्यक बजेटको व्यवस्थापन गरिएको घोषणा गरिएको हो । 

खुटिया–दिपायल–चैनपुर–उरै सडक निर्माण 
सरकारले खुटिया–दिपायल–चैनपुर–उरै सडक निर्माणका लागि वजेट विनियोजन गरेको छ । संघीय सरकारले प्रस्तुत बजेटमा खुटिया–दिपायल–चैनपुर–उरै सडक निर्माणसँगै प्रदेश सरकारसँगको सहकार्यमा वीपीनगर– खुटिया–दीपायल सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । 

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह 
सरकारले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था गरेको छ । आज सरकारले प्रस्तुत गरेको बजेटमा बन्दरगाह निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको भनिएको छ ।

बजेटको पुर्ण पाठ पढ्नका लागि तलको लिंक खोल्नुहोला । https://drive.google.com/file/d/1e_oJaARkavWReKn_HURB02nTqAFQXZx1/view?fbclid=IwAR3soMSPDiYai4w9qtD7xojjmTT-mHk9u8oKTjNSlYA9MQK8VPHJ0mimqdo