सोमबार धनगढीका युवकसँग विवाह गर्दै नायिका श्वेता खड्का
2020/12/03, 6:38
 
sweta khadak

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाँडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । 

दसैँ तिहारको बीचमा अभिनेत्री श्वेता खड्काको विवाहको चर्चाले सिनेवृत्त तरंगित भएको थियो । दशैंमा अपरिचत युवकसँगै टीका लगाएको फोटो सार्वजनिक भएसँगै श्वेताले विवाह गर्न लागेको खबर फैलिएको थियो । यस्तो खबरमा श्वेताले धनगढीका युवकसँग विवाह गर्न लागेको र मंसिर ५ को लगनमा बिहे गर्ने गरी होटल समेत बुक गरेको खबर बाहिरिएका थिए ।

हल्लाको सत्यतथ्य जाँचका लागि श्वेतासँग सम्पर्क गर्दा उनले विवाहको खबरमा अनभिज्ञता प्रकट गरेकी थिइन् । तर, श्वेताको विवाहको कार्ड प्राप्त भएको छ । बाँडिएको कार्डमा लेखिए अनुसार श्वेताले मंसीर २२ मा विजयेन्द्रसिंह रावतसँग विवाह गर्न गइरहेकी छिन् ।

 वैवाहिक समारोह गोकर्ण फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ । ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली फिल्ममा डेब्यु गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै  विवाह गरेकी थिइन् । विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएको थियो ।