बझाङमा देखिएका कोरोना संक्रमित पनि भारतवाट नै आएको पाईएको छ । विहीवार मात्रै बझाङ घर भएका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएकोमा उनी पनि भारतबाटै आएको पत्ता लागेको हो ।
प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्वर १ का पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी भारतको दिल्लीबाट नेपालगञ्जको रुपैडिहा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको प्रहरीले जनाएको छ । विरेन्द्रनगर नगरपालिकाले रुपैडिहा नाकामा अलपत्र परेकालाई उद्धार गर्न ८ गते बस पठाएकोमा उनी पनि सोही बस चढेर सिधै सुर्खेत पुगेका थिए ।
त्यहाँको एक क्वारेन्टाइनमा बसेका उनी सहित १५ जनाको हिजो पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । त्यसमा विदेशबाट आएका १६ जना र भारतबाट मात्रै आएका १४ जना रहेका छन् ।