१५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव नहुने
2020/12/06, 12:12
 
mahistav

कोरोना भाइरसको जोखिमका कारण विगत १५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव पनि प्रभावित भएको छ।  सुदूरपश्चिमको आर्थिक विकासका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हरेक वर्षको मंसिर २२ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सव प्रभावित भएपछि आयोजना नहुने भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष सुदूरपश्चिम महोत्सव स्थगीत गरिएको बताए।  कुँवरले कोरोना संक्रमणका कारण निर्धारित मंसिर २२ मै महोत्सव सञ्चालन हुन नसके पनि अवस्था सामान्य भएमा फागुनमै भएपनि महोत्सव आयोजना गर्न सकिने विकल्पमा जाने तयारी रहेको बताए।

सो विषयमा स्थानीय प्रशासन र सरोकारवाला पक्षसँग छलफल गरिने बताउँदै कुँवरले स्थिती सामान्य भए सुदूरपश्चिम महोत्सव आयोजना गर्न सकिने सम्भावना रहेको जनाए।   कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक आन्दोलनको रुपमा २०६३ सालदेखि प्रत्येक वर्ष सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको थियो।   

महोत्सवका माध्यमबाट २१ बुँदे मागसँगै २१ किलोको माला लगाएर  व्यवसायीले आन्दोलनकै रुपमा अघि बढाएका थिए।  महोत्सवका माध्यमबाट सुदूरपश्चिमको कला, संस्कृत जर्गेनाका प्रयास समेत हुँदै आएका छन् भने महोत्सवमा करोडौँको काराबोर हुने गरेको थियो।  तर यसवर्ष भने महोत्सव नलागेपछि कोरोनाले आर्थिक संकटमा परेका व्यवसायी थप निराश बनेका छन्।