पहिलो चौमासिकसम्म कैलालीका स्थानीय तह फुर्सदिला
४ महिनामा चालु र पूँजीगत खर्च १८ प्रतिशत मात्रै
2020/12/07, 3:21
 
corona

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कैलालीका स्थानीय तह निकै फुर्सदिला देखिएका छन् । विकासे गतिविधि सुस्त छन् ।  एक उप–महानगरपालिका सहित ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नगन्य खर्च भएको हो । ४ महिनाको अवधीमा चालु र पूँजीगत खर्च १८ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिकाले सबै भन्दा कम १२ प्रतिशत मात्रै खर्च गरेको छ । १३ करोड ६६ लाख ९४ हजार पूँजीगत बजेट रहेको गाउँपालिकामा आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा पनि ५४ लाख ७९ हजार मात्रै पूँजीगत बजेट खर्च भएको छ ।  गाउँपालिकाका अध्यक्ष बालिराम डंगौरा थारुले विकास निर्माणलगायतका कामहरु सञ्चालनमै रहेपनि भुक्तानी कम भएका कारण खर्च कम देखिएको बताए ।

जिल्लाको एक मात्र धनगढी उप–महानगरपालिकाले पनि ४ महिनाको अवधिमा ५ करोड ४ लाख १४ हजार मात्रै पूँजीगत बजेट खर्च गरेको छ । चालु र पूँजीगत गरि गोदावरी नगरपालिकाले १५ प्रतिशत, गौरीगंगा नगरपालिकाले २२, घोडाघोडी नगरपालकाले १८, टीकापुर नगरपालिकाले १६, कैलारी गाउँपालिकाले १८, चुरे गाउँपालिकाले २०, जानकी गाउँपालिकाले १४ र मोहन्याल गाउँपालिकाले १३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

कोरोना भाइरसको प्रभाव सँगै कर्मचारी अभावका कारण आपेक्षाकृत रुपमा काम गर्न नसकिएको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले बताए ।  जिल्लाकै कतिपय स्थानीय तहहरुले भने कोरोना भाइरसको प्रभावकै बीच चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राम्रो खर्च गर्न गर्न सफल भएका छन । सबै भन्दा बढी जोशिपुर गाउँपालिकाले चालु र पूँजीगत गरी ४ महिनाको अवधीमा २७ प्रतिशत बजेट खर्च गरेको छ भने लम्कीचुहा नगरपालिकाले पनि पहिलो चौमासिकमा २५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

नगरमा सञ्चालनमा रहेका बहुवर्षीय योजनाहरुको भुक्तानी भइरहेका कारण अन्य स्थानीय तहहरुको भन्दा बढी खर्च भएको लम्कीचुहाका मेयर महादेव बजगाईले बताए ।  जिल्लामा आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक फुर्सदमै विताउने प्रवृतिका कारण विकास निर्माण योजनाहरु पछाडि धकेलिदै गएका छन् । अन्तिम चौमासिकमा भने बजेट सक्नकै लागि गरिने विकास निर्माणको काम कम गुणस्तरको हुने गरेको छ ।