गत वर्ष स्वदेशमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० आयोजना हुँदा एथलेटिक्सबाट ठूलो सफलताको आशा कसैले राखेका थिएनन्। तर, धेरैलाई चकित पार्दै नेपाली खेलाडीले तीन वटा स्वर्ण पदक जिते। त्यसमध्येका एक थिए सशस्त्र प्रहरी बल ९एपीएफ० का गोपीचन्द्र पार्की। गोपीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। ५ हजार मिटरमा त्यो नेपालको पहिलो स्वर्ण पदक थियो। झन्डै डेढ दशकअघि राजेन्द्र भण्डारीले सोही स्पर्धामा स्वर्ण जितेका थिए। तर, पछि डोपिङ परीक्षणमा असफल भएका कारण उनको पदक खोसिएको थियो।
‘त्यतिबेला खोसिएको हाम्रो पदक फर्काउन सफल भएको छु। त्यसमा निकै खुसी छु,’ पदक जितेपछि दशरथ रंगशालामा गोपीले गर्व गर्दै भनेका थिए। राजेन्द्रलाई हेरेर दौडमा आफू आकर्षित भएको बताउने गोपी उनकै खोसिएको पदक फिर्ता गराउन सफल भएकोमा झनै बढी दंग थिए। त्यो पनि स्वदेशमै भएको सागमा स्वर्ण जित्नुको मजा पक्कै फरक हुन्छ नै। उनीसँगै १० हजार मिटरमा सन्तोषी श्रेष्ठ र म्याराथनमा किरणसिंह बोगटीले स्वर्ण पदक जितेका थिए। ३६ वर्ष लामो साग इतिहासमा नेपालले १३ औं संस्करणमा सबैभन्दा बढी सफलता हासिल गरेको थियो। त्यसमा स्वर्ण पदक जितेपछि गोपीको एउटा लक्ष्य त पुरा भएको छ। तर, उनी त्यसलगत्तै अर्को लक्ष्यको तयारीमा जुटिहाले– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने।
नेपाल ओलम्पिक कमिटी एनओसीले एथलेटिक्सबाट म्याराथनमा सहभागी गराउने बताएपछि मध्यम दुरीमा स्वर्ण जितेका गोपीले आफूलाई लामो दुरीको तयारीमा होमे। कोभिड १९ को विश्वव्यापी महामारी नभएको भए टोकियो ओलम्पिक २०२० आयोजना भइसकेको हुन्थ्यो। तर, कोरानाकै कारण ओलम्पिक एक वर्ष सरेको छ। ओलम्पिक सरेपनि गोपी भने सो त्यसमा छनोट हुन सफल भएका छन्।
कोरोनाका कारण खेलकुद गतिविधि पूर्ण रुपमा ठप्प थिए। तर, विस्तारै खेलकुद गतिविधि सुरु हुँदै गर्दा क्रिएटिभ ह्यान्ड्सले मंसिर ६ गते नेपालगन्ज म्याराथन आयोजना ग¥यो। तत्काल अरु कुनै प्रतिस्पर्धा नभएकाले एनओसीले सोही म्याराथनलाई ओलम्पिकको अन्तिम छनोटका रुपमा स्वीकृति दियो। म्याराथन ९४२।१९५ किलोमिटर दुरी० २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा मा पुरा गर्दै गोपीले ओलम्पिकको टिकट काटे। स्वदेशमा नेपाली धावकमध्ये सबैभन्दा कम समयमा उनले यो दुरी पुृरा गरेको एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले बताए।
ओलम्पिकका लागि छनोट भइसकेपछि गोपीले पुनः अर्को लक्ष्य तय गरिसकेका छन्। उनी तीन दशकअघि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले राखेको सागको कीर्तिमान भंग गर्ने प्रयासमा छन्। तेस्रो साग ९१९८७० मा बैकुण्ठले राखेको २ घन्टा १५ मिनेट ०३ सकेन्डको कीर्तिमान अहिलेसम्म तोडिएको छैन। नेपालगन्जबाट काठमाडौं फर्केर गोपी गृह जिल्ला कैलालीको धनगढी पुगिसकेका छन्। त्यहाँ पनि उनको ओलम्पिक तयारी रोकिएको छैन।
‘प्रशिक्षकहरुको सल्लाहअनुसार मैले तीन चरणमा तयारी गरिरहेको छु। पहिलो र दोस्रो चरणको तयारी सकियो। अब अन्तिम चरणको तयारी भइरहेको छ,’ गोपीले भने, ‘पहिलो चरणमा २ हप्ता मात्र अभ्यास गरेँ। तेस्रो हप्ता औसत शारीरिक अभ्यास गरे। अहिले ओलम्पिककै लागि भनेर तयारी गरिरहेको छु।’ अभ्यासका क्रममा आफूले कीर्तिमानी धावकको समय पार गरिरहेको पनि उनले सुनाए।
‘अन्तिम लक्ष्य बैकुण्ठ गुरुको कीर्तिमान तोड्ने हो। अहिले प्रशिक्षकले मलाई त्यसरी नै तयार पारिराख्नु भएको छ,’ उनले भने, ‘गुरुको टाइम बिट गरिसकेको छु। हाम्रो देशबाट ओलम्पिक धेरैले खेल्नुभयो। गुरुको रेकर्ड तोडिएको छैन। म त्यही तोड्ने लक्ष्यमा अघि बढ्नेछु।’ ओलम्पिकमा पदक जित्ने सम्भावना नभएकाले अन्तिम लक्ष्य भनेको कीर्तिमान बनाउने रहेको गोपीले यसअघि नै प्रष्ट पारिसकेका छन्।
आफ्ना मुख्य प्रशिक्षक सन्तोष श्रेष्ठ तथा प्रमिला रिजाल र दिलमाया कार्कीको निगरानीमा गृहनगरमा पनि प्रशिक्षणलाई निरन्तरता दिइरहेको गोपीले बताए। ‘ओलम्पिक आउन अझै ८ महिना बाँकी छ। त्यहीअनुसार तयारी गर्नेछु,’ उनले भने।
विभागको साथ
कोरोना भाइरसको महामारीमा सुरक्षा निकायमा आबद्ध खेलाडी ड्युटीमा खटिए। सामान्य अवस्थामा विभागले खेलाडीलाई नियमित ड्यूटीबाट अलग राख्ने गरेको छ। तर, यस पटक लकडाउनमा पनि गोपी ड्युटीमा खट्नु परेन। सशस्त्रले उनलाई ओलम्पिक छनोटकै तयारीमा जुट्न समय दियो। त्यसका लागि गोपी सशस्त्र र महानिरीक्षक शैलेन्द्र खनालप्रति आभार व्यक्त गर्छन्।
‘शैलेन्द्र सरकै निर्देशनमा मैले लकडाउनमा पनि आफ्नो तयारीलाई जारी राखेँ। मलाई तयारी गर्न दिनु भन्नुभएको थियो,’ उनले भने। खेल्नकै लागि सशस्त्रमा आबद्ध भएको स्मरण गर्दै गोपी भन्छन्, ‘क्लबको साथ नभएको भए सफल यात्रा तय गर्न कठिन हुन्थ्यो। खेलाडी त हुन्थेँ होला। तर, सागमा त्यो सफलता र अन्य प्रतियोगितामा पोजिसन ल्याउन कठिन हुन्थ्यो।’ गोपी २०६६ सालको फागुनमा सशस्त्रमा आबद्ध भएका थिए। तयारीका लागि सशस्त्रको वातवरण उनलाई उम्दा लाग्छ।
‘तयारीका लागि डाइटदेखि मैदानसम्मको कुरा आउँछ। विभागमा केही बाध्यताहरु त छन् तर खेल जीवनलाई अगाडि बढाउन भने सकिन्छ,’ उनले भने, ‘सशस्त्रमा आएपछि खेलाडीको मनोबल नै उच्च हुन्छ। २०६७ सालमा आइजीपी कप जितेर क्लबमा आएको हुँ।’
खाली खुट्टामै खेल जीवनको सुरुवात
कक्षा ९ मा पढ्दा राष्ट्रपति रनिङ शिल्ड खेलेबाटै उनको खेल जीवनको सुरुवात भएको थियो। भवानी माविमा हुँदा ४ सय मिटर दौडमा प्रथम भए। त्यसपछि क्षेत्रीयस्तरमा ८ सय मिटर दौडेका उनी राष्ट्रिय प्रतियोगितामा ४ सय मिटर नै दौडिएका थिए। ‘लामो संघर्षले मात्र सफलता पाइन्छ भन्ने सुनेको थिएँ। मेरो खेल जीवन पनि धेरै कष्टकर रुपले अगाडि बढेको हो,’ उनी विगतमा फर्किए, ‘पहिला खाली खुट्टा दौडिन्थेँ। अहिले म्याराथन दौडने राम्रो जुत्तालाई ६२ हजार पर्छ। आर्थिक अवस्थाले त थेग्न गाह्रो छ। तर पनि खेलको लागि किन्न पर्छ।’
परिवारका कान्छा सन्तानमा गोपीका ३ दाइ र २ दिदी छन्। खेल जीवनलाई अघि बढाउन परिवारको सहयोग अनिवार्य मान्छन् गोपी। ‘किसान बुबाआमाले छोराछोरीले जे गरे नि गरुन् भनेर साथ नदिएको भए आज यहाँ कसरी आइपुग्थेँन्’ उनी भन्छन्।
१० कक्षा पास गरेपछि केही समय पढाइ रोकियो। जसलाई पछि निरन्तरता दिएर उनले १२ कक्षा पास गरे। ‘औसत विद्यार्थी थिएँ,’ उनी भन्छन्, ‘सशस्त्रमा नआएको भए म पनि बुबाआमाले जस्तै खेती किसानी नै गर्थेँ होला।’ झन्डै एक दशकयता देश भित्र हुने अधिकांश प्रतियोगितामा उनको सहभागिता रहने गरेको छ। त्यसमध्ये २०७२ सालको प्रधानसेनापति कप म्याराथन जितेको क्षण भने उनी बिर्सन नसक्ने बताउँछन्।
‘म ५ हजार मिटर दौडेको मान्छे। पहिलो पटक सेनाको म्याराथन दौडिँदा नै पहिलो भएको थिएँ,’ उनले भने। २०७३ सालमा पेटमा समस्या देखिएपछि उनी १८ महिना दौडबाट टाढा रहे। खेल जीवनको उतार चढाव बेहोरेका उनी फेरि त्यस्तो दुःखको दिन नआओस् भन्ने कामना गर्छन्। ‘दौडन इच्छा त हुने तर शरीरले साथ नदिँदा धेरै दुःख लाग्ने रहेछ। खेलाडीमा धैर्यता पनि त्यत्तिकै आवश्यक हुने मैले त्यति बेला महसुस गरेँ,’ उनले भने।