यतिवेला सबैको ध्यान र चर्चा गोपीचन्द्र पार्कीतिर छ । उनी टोकियो ओलम्पीकका लागि छानिएपछि उनको चर्चा परिचर्चा बढी भईरहेको हो । तर यसभन्दा अघि पनि विश्व खेलकुद जगतमा सुदूरपश्चिमको नाम चर्चामा रहदै आएको छ । ३३ बर्ष पुरानो रेकर्ड तोड्ने तयारीमा गोपी लागेका वेला सुदूरपश्चिम खेलकुदको उर्वरभुमी हो भन्दा फरक नपर्ला ।
सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपंतीमा छ । ब्राजिलमा भएको रियो ओलम्पिकमै कान्छी खेलाडीका रुपमा चर्चा बटुलेकी पौडीबाज गौरिका सिंहदेखि ग्रीष्मकालीन ओलम्पिकका एक दर्जन संस्करणमा सहभागी नेपाली खेलाडीमध्ये नेपालको रेकर्ड कायम गर्ने मुक्केबाज विष्णुबहादुर सिंह सुदूरपश्चिमकै हुन् ।
अझ सुदूरपश्चिममा पनि भीमदत्तनगरपालिका तीन जना ओलम्पियन जन्माउने नगरपालिकाका रुपमा परिचित बन्न पुगेको छ । गौरीका भीमदत्त नगरपालिका–१८ भगतपुर र विष्णुबहादुर भीमदत्त नगरपालिका–१४ वनकट्टीका बासिन्दा हुन् । सानै उमेरमा पौडीमा राष्ट्रिय कीर्तिमान रचेकी गौरिकाले रियो ओलम्पिकमा पनि प्रदर्शनलाई सवल बनाइन् । गौरिकाको प्रदर्शनभन्दा पनि सहभागिताले नेपालका लागि रियो ओलम्पिक ऐतिहासिक बन्न पुगेको थियो ।
सन् १९८८ को सोल ओलम्पिकमा नेपालबाट विभिन्न खेलमा १७ जना खेलाडी सहभागी थिए । जसमध्ये सुदूरपश्चिमबाट मुक्केबाज विष्णुबहादुर, डम्बरदत्त भट्ट र भारोत्तोलन खेलाडी भरतबहादुर साउँदले पनि प्रतिस्पर्धा गरेका थिए । जसमा मुक्केबाज सिंहले पाराग्वेका मुक्केबाजलाई पराजित गरेर पहिलो चरण पार गरेका थिए । उनको त्यो ‘बाउट’ नै ओलम्पिकमा नेपालको एक मात्र रेकर्ड हो । हाल सुदूरपश्चिम प्रदेशका वरिष्ठ बक्सिङ प्रशिक्षक रहेका सिंहले पछिल्लो समय बक्सिङ खेलको स्तर खस्किरहेकै कारण सन् १९८८ यता ओलम्पिकमा नेपाली बक्सर सहभागी हुन नसकेको बताए । उनले जुनसुकैस्तरको प्रतियोगिता भए पनि खेलाडीलाई प्रशिक्षण र आवश्यक खेल सामग्रीका साथै पूर्वाधार हुनुपर्नेमा जोड दिए ।
‘दुई महिने प्रशिक्षणले ओलम्पिकमा पदकको आश गर्नु बेकार कुरा हो’ उनले भने – ‘राज्यले खेलकुदमा गरेको लगानी खेलाडी, प्रशिक्षक र खेलसामग्रीका साथै पूर्वाधारण निर्माणमा खर्च गर्नुपर्छ ।’ उनले भने – ‘खेलकुदमा राजनीति हावी भएसम्म खेलकुदको विकास हुन सक्दैन ।’ विसं २०४० मा कञ्चनपुरको महेन्द्रनरमा बक्सिङ प्रशिक्षण लिएका सिंहले प्रशिक्षण लिएको चार वर्षमै ओलम्पिकको यात्रा तय गर्न सफल भएका थिए । त्यसैगरी मुक्केबाज सिंहसँगै महेन्द्रनगरमै बक्सिङ प्रशिक्षण लिएका भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा मुक्केबाज डम्बरदत्त भट्ट र धनगढीका भरतबहादुर साउँद पनि सोल ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । भारोत्तोलन खेलमा प्रतिस्पर्धा गरेका साउँदको निधन भइसकेको छ ।
त्यस्तै कञ्चनपुरका बक्सिङ प्रशिक्षक रहेका मुक्केबाज भट्टले १४ वर्षको उमेरमा बक्सिङ खेल्न सुरु गरेको बताए । पछिल्लो समय कञ्चनपुरको भीमदत्तनगरमा आधुनिक बक्सिङ प्रशिक्षण केन्द्र स्थापना गरेर खेलाडी उत्पादनमा जोड दिएका भट्टले आशा हमाल, रणबहादुर साउद, विमल सिंह लगायत राष्ट्रिय खेलाडी उत्पादन गरेको बताउँछन् । ‘नयाँ आउने खेलाडीलाई खेलकुदमा भविष्य हुने प्याकेज ल्याए खेलप्रति लगाव बढ्छ ।’ उनले भने, ‘खेलकुद राष्ट्रको गौरवसित जोडिएको विषय हो ।’
रियो ओलम्पिकमा सहभागी सात जना खेलाडीमध्ये सर्वत्र चर्चामा रहेकी गौरिका डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन् । पुख्र्यौली घर बझाङ भए पनि उनीहरु दशकौँदेखि भीमदत्तनगरपालिका–१८ भगतपुर बस्दै आएका छन् । त्यसैगरी तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट र रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी खेलाडी सरस्वती भट्टराई सुदूरपश्चिमकै हुन् । विष्ट कञ्चनपुरको रैकवारविचुवा गाविसका स्थानीय हुन् भने डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा निवासी धावक भट्टराई हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध छिन् । रियो ओलम्पिकमा भट्टराईले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।
ओलम्पिकमा मात्रै नभएर अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलमा सुदूरपश्चिमका दर्जनौँ खेलाडीले प्रतिस्पर्धाका साथै पदक हासिल गरिसकेका छन् । पछिल्लो समय क्रिकेट, कबड्डी, तेक्वान्दो, भलिबल, हक्की लगायतका खेलमा पनि राष्ट्रिय टिममा सुदूरका खेलाडी सहभागी छन् ।