डडेल्धुरामा सुविधा सम्पन्न सेमी कभर्ड हल निर्माण कार्य अलपत्र
2020/12/20, 6:22
 
hall

डडेल्धुरामा सुविधा सम्पन्न सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको छ। आर्थिक अभावले अमरगढी नगरपालिका–४ खलंगामा रहेको ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको हो।  डेढ वर्षभित्र उक्त सेमि कर्भड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भएपनि आर्थिक अभावले सेमी कभर्ड हलको काम अगाडी बढ्न सकेको छैन्। 

राष्ट्रिय खेलकुद परिषद्बाट कभर्ड हलका लागि तत्काल १० लाख रुपैंय निकासा गरेको र सो रकम अपुग हुँदा कभर्ड हल अलपत्र परेको जिल्ला खेलकुद विकास समिति डडेल्धुराले जनाएको छ। अहिले जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि भाडाको भवनमा सञ्चालन भइरहेको छ।  कभर्ड हल निर्माणको लागि ८ वटा पील्लर मात्रै हालिएको र अन्य कार्य नभएको जिल्ला खेलकुद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए। क्रमागत रूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको उनको भनाइ छ।

‘राखेपबाट बजेट निकासा भएको छैन। गत वर्ष राखेपबाट नै स्विकृत भएर बजेट निकासा भएको थियो। तर, अहिले निकासा भएको छैन। तेही भएर निर्माण अलपत्र छ,’ उनले भने, ‘२ रोपनी जग्गामा ८ ओटा पील्लरसहित फाउन्डेसन भएको छ। बजेट नभएर निर्माण ठप्प छ।’ अमरगढी नगरपालिकाका नगरप्रमुख विशेस्वरप्रसाद ओझाले भने कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको बताएका छन्। उनले प्रस्ताव पेश गरेको र स्विकृत भएपछि कभर्ड हल निर्माण हुने बताए।

‘जनताका आवश्यकता असिमित छन्। स्रोत साधनको कमि छ। संघीय सरकाले केही बजेट विनियोजन गरेको थियो। हामीले काम अगाढी बढाएका थियौँ,’ उनले भने, ‘यो वर्ष पनि कभर्ड हलको निर्माणका लागि संघीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ।’  जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रम समेत प्रभावित बनेका छन्। इनडोर खेलहरू खेल्नका लागि हलको प्रयोग हुने हुँदा आजभोलि जिल्लामा खेलकुद गतिविधि शून्य बनेको छ। 

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ताभित्र खेलिने खेलहरू बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुनेहुदा कर्भड हलको आवश्यकता पर्ने गर्दछ।  अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्षपहिले निर्माण भएको कभर्ड ३० असार २०७५ मा भत्किएको थियो।  त्यसपछि ८ बैशाख २०७६ मा प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरुले एक कार्यक्रमकाबीच ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरेकी थिइन्।

उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकुद विकास समितिले जनाएको छ।