कैलालीको टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने थाहा भए पनि उनका मनमा गलत विचार आउन थाले । मनमै कुरा खेलाउँदा उनको पढाइ बिगँ्रदै गयो ।
पछि उनी विद्यालय आउनै छोडिन् ।
वडामा गठन भएको बाल क्लबका सदस्य किशोरीले विद्यालय आउन छोडेको जानकारी पाएपछि उनको घर गए । किशोरीलाई परिवारका सदस्यले गाली मात्र गर्ने गरेका रहेछन् । बाल क्लबका किशोरकिशोरीले उनलाई एक्लै राखेर लामो छलफल गरेपछि उनले कुरा खोलिन् । हरियाली बाल क्लबका अध्यक्ष कबिर विक क्लबमा किशोर किशोरीका समस्या र समाधानका उपायबारे छलफल गर्ने गरेको बताउँछन् । “हाम्रो समाजमा अझै बालबालिकाको मञ्जुरी बिना बालविवाह हुन्छ । यसको हामी विरोध गर्छौँ”, अध्यक्ष विक भन्छन् “महिनामा दुई तीन पटक हामी बस्छौँ, छलफल गर्छौँ ।
हामी यौन तथा प्रजनन शिक्षाका कुरामा समेत छलफल गर्छौँ ।” छोरीहरुलाई घरको काम धेरै हुँदा बैठकमा समेत आउन नपाएका बताउँदै विक भन्छन, “छोराहरु विद्यालयपछिको समय फुर्सदमा हुन्छन्, छोरीहरु घरको कामबाट फुर्सद पाउँदैनन्, समान व्यवहारका लागि हामीले अभिभावकसँग पनि छलफल गर्न थालेका छौँ ।”
बाल क्लबका पदाधिकारीले बालबालिका सम्बन्धी भईरहेका घटना न्यूनीकरणका लागि छलफल गर्ने र विद्यालय छाड्नेलाई विद्यालयसम्म ल्याउने काम गर्छन् । उनीहरुले लैङ्गिक हिंसा, बाल अधिकार, समस्यामा परेकालाई सहजीकरण गर्छन् । छोराछोरीमाथि विभेद, छोरीलाई संस्कारको बन्धन लगायतका विषयमा किशोर किशोरीले बैठकमा विचार साटासाट गर्छन् । टीकापुर–४ बाघमारा दीपशिखा बाल क्लबका अध्यक्ष तथा टीकापुर नगरपालिकास्तरीय बाल संरक्षण समितिका सदस्य अप्सरा चौधरी क्लबले लकडाउनका समयमा बालविवाह विरुद्ध जनचेतना फैलाउने काम गरेको बताउँछन् । “लकडाउनपछि विद्यालय बन्द हुँदा बालविवाह बढ्न सक्छ भनी समुदायमा गएर छलफल चलायौँ”, अप्सराले भनिन्, “समुदायमा बालबालिका सम्बन्धी भएका घटना र किशोरावस्थामा आवश्यक पौष्टिक आहाराका बारेमा समेत छलफल गरेका छौँ ।”
दीपशिखाका कोषाध्यक्ष सविन चौधरी बाल क्लबमा आबद्ध भएपछि उहाँको आनीबानी परिवर्तन भएको छ । विगतमा परिवारको अटेरी बच्चाका रूपमा रहेका सविन आजभोलि गाउँमा अभियानकर्मी बनेका छन् । “म घर बाहिर बढी डुल्थेँ, अटेरी थिएँ । घरमा भनेको मान्दिनथेँ । आजभोलि राम्रो पढ्छु”, सविन भन्छन, “घरमा ज्ञानी भएको छु । अरुलाई समेत सिकाउँछु । लकडाउनका बेला हामीले समुदायमा कोरोना भाइरस सङ्क्रमणबारे जनचेतना जगाउने काम गर्यौँ ।”
बाल क्लबका पदाधिकारीले स्थानीयस्तरमा हुने विकासका कार्यमा बालबालिका सहभागी गराउनुपर्ने माग गर्न थालेका छन् । स्थानीय तहले छनोट गर्ने योजना बालमैत्री हुनुपर्ने उनीहरुको माग छ । कैलालीको टीकापुरमा रहेको बाल कल्याण संघले बाल क्लब गठन गरेर बालबालिकालाई सचेत बनाउने र सामाजिक कार्यमा सक्रिय बनाउने काम गरिरहेको छ । बालबालिकालाई भेद्भाव, शोषण, दुव्र्यवहार, अपहेलना, यौन शोषण जस्ता कार्यबारे सचेत गराउन संघले नगरपालिकाभित्र १७ वटा बाल क्लब गठन गरेको छ । क्लबका पदाधिकारीलाई शुरुमा तालिम दिएर हाल उनीहरुले समुदायमा तालिम दिन थालेका छन् ।
बाल कल्याण संघका निरीक्षक द्रोपति तिमिल्सिनाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई गलत बाटोमा लाग्न नदिन क्लब मार्फत जिम्मेवार बनाउन थालेको बताए । “बालबालिकाई सही मार्गमा हिँडाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ”, तिमिल्सिना भन्छन, “बालबालिकालाई किशोरावस्थामा जिम्मेवार बनाउन सके समाज सुन्दर हुन्छ । उनीहरु समाज विकासमा लागे भविष्य सुन्दर हुन्छ ।”
बाल अधिकारबारे बालबालिका सचेत बनाउन सरकारले पनि बालबालिकाई नेतृत्वमा ल्याउने प्रयास थालेको छ । सरकारले हरेक स्थानीय तहमा बाल संरक्षण समिति गठन गरेर उनीहरुलाई सामाजिक जिम्मेवारी दिएको छ । “बालबालिका स्थानीय सरकारका सबैखाले अभियानमा सहयोगी बनेका छन”, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले भने, “बालबालिकाका समस्या र आवश्यकता उनीहरुलाई नै थाहा हुने भएकाले उनीहरुलाई सचेत गराउन सरकार सहयोगी भएको छ ।”
वडाध्यक्ष आचार्य बालबालिकालाई बाल संरक्षण सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रावधान, महासन्धी र त्यसले प्रत्याभूत गरेका विषयबारे सचेत बनाउने कार्य स्थानीयस्तरमा सुरु गरिएको बताउँछन् । “बालबालिका सचेत भएमात्र समाजले राम्रो उत्पादन पाउने भएकाले हामी जिम्मेवार बनेका छौँ”, वडाध्यक्ष आचार्य भन्छन, “हरेक अभिभावकले बालबालिकालाई गलत सङ्गतमा लाग्नबाट जोगाउन सचेत बन्न जरुरी छ ।”