सुदुरपश्चिममा कोरोना कहर- ‘भारतबाट मान्छेसँगै कोरोना पनि भित्रयाईरहेका छौं’
2020/05/30, 9:22
 
korona

सीताराम ओझा- भारतबाट आउनेको संख्या वृद्धि सँगै सुदुरपश्चिममा कोरोना संक्रतिमको संख्या ह्वात्तै वढ्न थालेको छ । ५ जना संक्रमित भएर ४० जनासम्म शान्त रहेको सुदुरपश्चिम पछिल्ला दिनमा सन्त्रास वढेको हो । हालसम्म सुदुरपश्चिममा झण्डै दुई लाख नेपाली भित्रिएका छन् । उनीहरुमध्ये ९० प्रतिशतको कोरोना परिक्षण हुन सकेको छैन । भारतबाट आएकामध्ये गरिएको परिक्षणमा भने अधिकांशमा कोरोना पुष्टि भएको छ ।

सुदुरपश्चिममा हालसम्म २१ जना संक्रमित देखिएकोमा त्यसमा भारतबाट आएका मात्रै १५ जना रहेका छन् । यो कुल संक्रमितको प्रतिशत हो । संक्रमित मध्ये एक जना विदेशबाट आएका छन भने एक जनामा विदेशबाट आएकोबाट सरेको छ । चार जनाको भने आन्तरिक यात्रा रहेको छ । भारतबाट आउनेहरुले कोरोना पनि ल्याईरहेकोले सुदुरपश्चिममा अझ झन कोरोनाको खतरा वढिरहेको चिकित्सकहरुले चेतावनी दिएका छन । सेती प्रादेशिक अस्पतालका कोभिड–१९ प्रमुख डाक्टर शेरवहादुर कमरले सीमाबाट विना चेकजाँच भित्र्याउनु आफैलाई जोखिम बढाउनु रहेको बताए । ‘कोरोना संक्रमणमा अब चुनौती थपिएको छ ।

सबैभन्दा ठुलो चुनौती नै यही हो । संक्रमण वढाउने कुरामा त दुई मत छैन । सवै भिड एकै ठाउँमा जम्मा हुँदा आउँदा जोखिम भयो । वसमा अन्य गाडीमा लुकेर आउँदा पनि भाको नपाको थाहा हुन्न ।’ डाक्टर कमरले भने– सीमामा नै प्रक्रिया पुरा गरेर ल्याउनुपर्ने हो तर ठुलो भिड हुँदा छिटो छिटो भित्र्याईयो । जसरी अहिले ल्याईएको छ यसले पुर्वका तराईका जिल्लामा धेरै कोरोना संक्रमित देखिएका छन् । यो कामले देखिदैन् भन्न सकिदैंन ।’ 

पछिल्लो १२ दिनमा कैलालीबाट मात्रै ३३ हजार नेपालीहरु भित्रिएका छन् भने कञ्चनपुर वैतडी र दार्चुलामा गरी १० हजारभन्दा वढी भित्रिएका छन् । लकडाउनको अवधिमा ४० हजारभन्दा वढी आएपनि लकडाउन अघि सुदुरपश्चिम प्रदेश सरकारको तथ्यांक अनुसार डेढ लाखभन्दा वढी नेपाली भित्रिएका छन् । भारतबाट आउने क्रम जारी रहँदा झण्डै दुई लाखको हाराहारीमा भारतबाट नेपालीहरु आएका छन् भने आउने क्रम दैनिक रुपमा वढिरहेको छ । उनीहरुमध्ये सीमामा झण्डै दुई हजारको कोरोना परिक्षण जाँच गरिएको छ भने बाँकी सामान्य ज्वरो जाँच गरी घर पुगेका छन् ।

जेठको दुई सातामा भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिए पनि त्यो भन्दा अगाडी आएका डेढ लाख परिक्षणको दायरामा आउन सकेका छैनन् । यसअघि सीमामा डेस्क मात्रै राखेर तथ्यांक मात्रै संकलन गरिएकोमा हाल भारतबाट आउनेहरुको विस्तृत विवरण सहित उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुको डिटेल लिएर पठाउने काम गरिरहेका छौं । सबैको चेकअप हुन सकिएको छैन । पछिल्ला दिनमा नर्मल चेक गरिदै आएको छ । सवैको टेष्ट गर्न सकिएको छैन् ।’ प्रहरी प्रवक्ता बस्नेतले भने–सीममा आएकाहरुलाई रोकेर खानाको व्यवस्था गरिरहेका छौं ।  सम्बन्धित पालिकमै पठाउने गरिरहेका छौं । त्यसपछि त्यही परिक्षण गर्ने व्यवस्था गर्न भनिएको खबर पाएका छौं ।’ 

भारतबाट फर्किनेहरुको संख्या वढेसँगै कोरोना संक्रमण बढ्न थालेको छ । गत चैतमा कैलालीका चार जना र कञ्चनपुका एक जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरु पाँचै जना निको भएर घर फर्किसकेका छन् । तर पछिल्लो एक हप्तामै संक्रमितको संख्या एक्कासी वढेको छ । जेठ ८ गते शुक्रवारदेखि १५ गते विहीवारसम्म कोरोनाका थप नयाँ १६ जना संक्रमित थपिएका छन् । उनीहरु सुदुरपश्चिमका ५ पहाडी जिल्लाका रहेका छन् । अहिलेसम्म डोटी र बाजुरामा भने कुनै संक्रमित देखिएका छैनन् । सीमा नाकाबाट दैनिक हजारौंको भिड प्रवेश गरेपनि सीमा नाकामा किट अभावले कोरोना चेकजाँच नहुँदा खतराको घण्टी बजिरहेको छ ।  यस तर्फ प्रदेश सरकारले चासो दिएको छैन । सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाख प्रमुख सीमा नाकामा भन्दा पनि क्वारेन्टाईनमा बसेपछि कोरोनाको चेकजाँच हुने बताउँछन् ।

‘सीमा किटले टेष्ट गरेर भित्र्याउनुपर्छ भन्ने गाईड लाईनमा कही भनिएको छैन । मापदण्डमा उल्लेख गरिएको छैन । १४ दिन क्वारेन्टाईनमा वसेपछि मात्रै किटले जाँच गर्ने हो ।’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने–‘सीममा जाँच गर्दा वाटोमा संक्रमित हुन सक्छन नि । फेरि हामीले जाँच गरेको भनेर ढुक्क भए भने त्यसले अझ जोखिम ल्याउन सक्छ । भयावहको स्थिति आउन सक्छ नि । त्यही भएर हामीले क्वारेन्टाईनमा वसेपछि किटले जाँच गर्ने हो ।’ भारतबाट आउनेहरुको संख्या वृद्धि भएसगै सुदुरपश्चिममा संक्रमितहरुको संख्या पनि वढेको तथ्यांकले देखाएको छ । पछिल्लो एक सातामा मात्रै १६ जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये अधिकांश भारतबाटै आएका हुन् । केहीको भने आन्तरिक ट्राभल हिस्ट्री रहेको छ ।

त्यस्तै कारोना पुष्टि भएका केही जना पनि यसभन्दा अघि भारतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार पछिल्लो एक साताको अवधिमा प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको हो । १६ जनामा १२ जना संक्रमित भने जेठ महिनामै भारतबाट फर्किएका छन । सुदूरपश्चिममा बैशाख १ गतेपछि ४० दिनसम्म नयाँ संक्रमित फेला नपरेकोमा जेठ ९ गते एकै दिन ५ जना कोरोना संक्रमित थपिए । 

कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट जेठ महिनामै लुकिछीपी आएका थिए ।  बैतडीका संक्रमित पनि भारतबाटै आएका थिए । तर उनी जेठमा नभई संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडी भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । १३ गते सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी दुई जनामा कोरोना पुष्टि भएको थियो । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन् । उनका बुवामा पनि ११ गते कोरोना संक्रमण पुष्टि भईसकेको थियो। कैलालीका संक्रमित पनि जेठमै भारतबाट आएका थिए ।

बिहिवार मात्रै सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि भएकोमा चारै जना भारतबाट फर्किएका हुन । दार्चुलाका २१ बर्षीय संक्रमित धारचुला–दार्चुला नाकाबाट ८ गते भित्रिएका थिए भने कैलालीका ३५ र ३० बर्षीय संक्रमित जेठ ३ गते त्रिनगर र खक्रौला नाकाबाट आएका थिए । बझाङका संक्रमित पनि रुपैडिहा नाकाबाट ८ गते फर्किएका थिए । यसअघि सुदूरपश्चिम प्रदेशमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ बषीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषमा चैत २२ गते र लम्कीकी ६१ बर्षीय महिलामा बैशाख १ गते कोरोना पुष्टि भएको थियो । उनीहरु पाँचै जना कोरोनालाई जिते घर फर्किसकेका छन । 

अहिले प्रदेशमा १५ र एक जना कोरोना संक्रमितको कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।  ६÷६ जनाको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुर, दार्चुला, बैतडी र सुर्खेतको अस्पतालमा उपचार भईरहेको छ ।