कैलालीमा सुदूरपश्चिमकै ठूलो पाँच तारे होटल सञ्चालनमा आउने, लगानी ७ अर्ब
2020/12/22, 12:42
 
khanidada

कैलालीमा सुदूरपश्चिमकै ठूलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । होटेल पाँच बर्ष भित्र सञ्चालनमा ल्याउने तयारी थालिएको छ । होटेल निर्माणका लागि झण्डै ७ अर्ब लगानी गरिने भएको छ ।   सुदूरपश्चिममा सुविधा सम्पन्न होटेल डिभोटी बिक्री गरेका पर्यटन व्यवसायी कृष्णबहादुर महराको नेतृत्वमा कैलालीमा पाँच तारे होटल निर्माण हुने भएको छ । महराको पहलमा कैलालीको खानीडाडाँमा ७ अर्बको लगानीमा पाँच तारे होटल निर्माणको लागि गुरुयोजना बनाएर प्रक्रिया अगाडी बढाईएको छ ।

1

उनले सुदूरपश्चिम प्रदेशमा रहेका विविध पर्यटकीय गन्तव्यहरुलाई प्राथमिकतामा राखेर सुदूरपश्चिममा हालसम्मकै ठूलो पाँच तारे होटल निर्माणको तयारी भइरहेको बताएका हुन् । ‘सुदूरपश्चिम पर्यटनका हिसावले भरिपूर्ण छ, हालसम्म पर्यटकीय दृष्टिकोणले सेवा सुविधायुक्त पाँच तारे होटल सुदूरपश्चिममा छैन, सो अभावलाई परिपुर्तिका निम्ति र सुदूरपश्चिमलाई पर्यटकीय हबका रुपमा विकास गर्न आवश्यक छ, त्यसैले हामीले पाँच तारे होटल निर्माणको प्रक्रिया थालेका छौं ।’ उनले भने ।  महराका अनुसार होटलको निर्माणका लागि धेरै प्रक्रियाहरु अगाडी बढिसकेका छन् । हालसम्म होटलको लागि गुरुयोजना निर्माण नभईसकेको भएपनि अनुमानित ७ अर्ब रुपैयाँ लगानी लाग्ने उनको भनाई छ । 

‘हामीले करिब ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका छौं, होटल निर्माणका लागि गर्नु पर्ने प्रक्रिया तथा तयारीहरु भइरहेका छन् । कन्सेप्ट प्लान भइसकेको छ भने मास्टर प्लान भईहरेको छ, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि सुरु भइसकेको छ, अब चाँडै मास्टर प्लानको काम सकेर निर्माणको प्रक्रियामा पनि जान्छौं । महराले भने । उनका अनुसार ७ अर्ब लगानीमा बन्ने होटलमा झण्डै दुई सय जना स्थानीय सहित विदेशीको पनि लगानी रहनेछ ।

1

खानीडाँडाका स्थानीयहरुको पनि त्यसमा हिस्सा तथा सेयर रहने उनको भनाई छ ।  महराका अनुसार सो पाँच तारे होटलको निर्माण कार्य आगामी ५ वर्षभित्र सम्पन्न हुनेछ । खानीडाँडा डिलक्स रिसोर्ट नाम रहेको सो होटेलको निर्माणका लागि लगानी बोर्डसँग पनि सहकार्य भईरहेको उनले बताए । ‘यो होटलमा स्थानीयहरु सँसँगै विदेशी लगानी पनि हुन्छ, होटलमा विदेशी लगानी ल्याउनका लागि लगानी बोर्डसँग कुरा भइहरेको छ, विदेशी लगानी ल्याउन सके हामीलाई काम गर्न पनि सहज हुन्छ,’ उनले भने । 

1

होटल निर्माण गरेर सुदूरपश्चिमको आर्थिक मेरुदण्डको रुपमा त्यसलाई विकास गर्ने योजना हरेको उनको भनाई छ । लगानी बोर्ड मार्फत विदेशी लगानी भित्र्याउने प्रक्रिया भईरहेको बताउँदै उनले विदेशी पर्यटकहरुका लागि एउटा व्यवस्थित र सुविधायुक्त होटलका रुपमा विकास गरेर सुदूरपश्चिममा पर्यटकहरुको आकर्षण बढाउने बताए ।  सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले धेरै सम्भावना भएको प्रदेश भएपनि भौतिक पूर्वाधारहरुको कमिले उल्लेख्य मात्रामा पर्यटक आउन सकेका छैनन् । खानीडाँडा डिलक्स रिसोर्टको मुख्य प्राथमिकतामा भारतीय पर्यटकहरु रहने महराले बनाए ।

महराका अनुसार ९५ प्रतिशत भारतीय पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ काम गर्न थालिएको हो । ‘कैलाश मानसरोवरमा भारतीय पर्यटकलाई तिर्थयात्रा घुमाउनेदेखि लिएर सुदूरपश्चिमका पर्यटकीय स्थलहरु अपी, साइपाल, रामारोशन, बडिमालिका, खप्तडमा हेलिकप्टर मार्फत घुमाउनको लागि हामी व्यवस्था गर्नेछौं । यसले सुदूरपश्चिम मात्र होइन देशकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ, नयाँ सोच र योजनाका साथ हामी काम गर्दैछौं,’ उनले भने ।

२०५६ सालदेखि होटल व्यवसाय सुरु गरेका महरा विषेशगरी पर्यटक व्यवसायीका रुपमा परिचित छन् । सुरुमा कैलालीको धनगढीमा होटल डिभोटी सञ्चालन गरेर सुदूरपश्चिमको पर्यटन विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका महरा नेपाल पर्यटन बोर्डको सदस्यमा समेत आवद्ध छन् । हाल उनले होटल डीभोटी बिक्री गरिसकेका छन् । डीभोटीलाई होटेललाई अपग्रेड गर्न १५÷२० करोड थप लगानी गर्नुपर्ने, क्यासिनोको लाईसेन्स लिनुपर्ने, सरकारी जग्गा लिजमा लिनुपर्ने भएको र यसमा सरकारी स्तरबाटै असहयोग भएपछि होटल बिक्री गर्न बाध्य भएको उनको भनाई छ ।

1

उनी डिभोटी प्रपर्टिस प्रा.लि., कन्चन स्काई प्रा.लि, पटियानी रिसोर्ट (चितवन), रिभर साईड फनपार्क रिसोर्ट प्रा.लि (चितवन) लगायत व्यवसायमा उनको सेयर छ । हाल निर्माण हुन लागेको खानीडाँडाँ डिलक्स रिसोर्ट प्रालि समुन्द्र सतहीबाट ४ हजार फिटको उचाईमा छ । खानीडाडाँबाट विभिन्न रमाईला पहाडहरुको दृश्यावलोकन गर्न पाईन्छ । विशेष गरेर गर्मी मौसममा धनगढी र कञ्चनपूर लगायतका ठाउँहरुबाट मानिसहरु गर्मी छल्न खानीडाँडाँ जाने गरेका छन् ।