बर्खास्ती गरिएका मन्त्री बोहोरा भन्छन्– आफ्नै पद धरापमा भएका मुख्यमन्त्रीले दबाबमा हटाए
2020/12/29, 12:26
 
pathak

मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्रीबाट बर्खास्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता पठानसिंह बोहराले आफ्नै पद धरापमा परेका मुख्यमन्त्रीले दबाबमा परेर हटाएको प्रतिक्रिया दिएका छन् । नेता बोहराले आफूसँग यसबारे कुनै छलफल नभएको बताए ।

उनले  भने– ‘प्रदेश सरकारको नाकै बचाउने काम मैले गरेको हो । व्यवस्थित ढंगले योजना र काम अगाडि बढाएको हो । मसँग एक आँखर पनि कुरा भएको छैन । फोन गर्दा पनि केही भन्नुभएन । म त मूल पार्टीको नेतृत्वको पक्षमा हो, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको, यत्ति कुरा भएको हो । संवैधानिक प्रावधानका आधारमा हटाएको भनिएको छ, के प्रावधान हो, त्यो बुझ्न सकेन मैले ।’

मन्त्रीबाट हटाएपछि अब आफ्नो पक्षले समेत सल्लाह गरेर अगाडी बढ्ने मन्त्री बोहराले बताए । ‘हामी सल्लाह गर्छाैं हामी, उहाँले दबाबमा परेर गर्नुभयो भन्ने सुन्छु । दबाबमा परेर कति दिन काम गर्न सक्ने हो उहाँले ?’ उनले भने, ‘प्रदेश सभामा के, कति, कता संख्या भन्ने हिसाबमा उहाँ पनि धरापमै हुनुहुन्छ भनेर बुझ्छु म ।’ प्रचण्ड–नेपाल पक्षीय मुख्यमन्त्री भट्टले आफ्नो समूहभित्रको असन्तुष्टि मिलाउन बोहरालाई हटाएर नयाँ मन्त्री थप्ने तयारी गरेका स्रोतले जनाएको छ ।