नैतिक आचरण विपरितका काम गरेका भन्दै कैलाली अध्यक्ष थापा र प्रदेश सदस्य पन्तलाई कारबाही
2021/01/02, 9:09
 
rajniti

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्तलाई कारबाही गरेको छ । प्रचण्ड–नेपाल पक्ष आधिकारिक रहेको दाबी गर्दै आएको सो कमिटीले नैतिक आचरण विपरितका काम गरेका भन्दै दुवै जनालाई छ महिनाका लागि पद्मुक्त गर्ने निर्णय गरेको हो ।

 धनगढीमा बसेको सो खेमाको प्रदेश स्तरीय कमिटीले कारबाहीको निर्णय गरेको थियो । शनिबार पत्रकार सम्मेलन गरेर कारबाही गरिएको जानकारी दिइएको छ । कैलाली जिल्ला अध्यक्षको पद्मा रहेका थापाले पार्टीको हित विपरितका गतिविधि गरेकाले नेकपाको अन्तरिम विधान बमोजिम अध्यक्ष पद्बाट हटाउनका लागि कैलाली जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा थापालाई पद्मुक्तका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रदेश इन्चार्ज भीम रावलले बताए ।

उनका अनुसार प्रदेश कमिटी सदस्य पन्तले पनि आचरण विपरितको कार्य गरेकाले उनलाई पनि कारबाही गरिएको हो ।  यसैगरी, नेकपा सुदूरपश्चिम प्रदेशका संयोजक एवम् प्रचण्ड–नेपाल पक्षधर नेता डा. भीम रावलले प्रदेश सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन् ।

सो पार्टीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘प्रदेश सरकार ढल्दैन । बाहिर आएका सबै कुरा हल्ला मात्रै हुन ।’ उनले प्रदेश सरकार ढल्छ भन्ने कुरा भ्रममात्रै रहेको जिकिर गर्दै अगाडि थपे–‘प्रदेश सरकार बलियो छ । सरकार ढल्छ भन्ने प्रचारको कुनै पनि औचित्य छैन ।’