स्कुल भरिएपछि गोठ र खुल्ला आकाशमा पाल टाँसेर क्वारेन्टाईन बनाईदैं, जनप्रतिनिधिहरु भन्छन्– ‘अब हामी धान्न सक्ने अवस्थामा छैनौ’ 
2020/05/30, 8:37
 
quarentine

बझाङको थलारा गाउँपालिकामा ७ सय ४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यीमध्ये १ सय ३३ महिला र १ सय १३ बालबालिका छन् । यहाँका २३ वटा विद्यालयमा बनाइएका क्वारेन्टाईनमा बसेका उनीहरू सबै सातायता भारतबाट आएका हुन् । पालिकाका क्वारेन्टाइन भरिएपछि आफ्नै घर नजिक पाल टाँगेर बस्न बाध्य भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम ओलीले भने, ‘विद्यालय सबै भरिए, अब कहाँ राख्ने ?’ भारतमा रोजगारीका लागि गएकाहरू गौरीफन्टा, वनबासा, झुलाघाट लगायतका नाकाबाट भित्रने क्रम जारी रहेको उनले बताए । 

मापदण्ड अनुरूप क्वारेन्टाईन सडक पुगेको ठाउँमा हुनुपर्छ । तर, थलाराका क्वारेन्टाइन सडकबाट तीन घण्टा हिँड्नुपर्ने ठाउँमा पनि छन् । बाहिरबाट आउनेहरू धेरै भएकाले दुर्गमका विद्यालयमा पनि क्वारेन्टाइन बनाइएको जनाउँदै ओलीले संख्या थपिँदै गएकाले अब आउनेलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको बताए । क्वारेन्टाइन टाढा भएकाले स्वास्थ्यसेवा दिन समेत समस्या परेको छ । ‘कसैलाई केही जोखिम भइहाले पनि स्वास्थ्य सेवा दिन सक्ने अवस्थामा छैनौं, गाउँपालिकाभरि रहेका १० १२ जना स्वास्थ्यकर्मीले सबैतिर भ्याउन असम्भव छ,’ उनले भने ।

एक्कासि ठूलो संख्यामा मानिसहरू भित्रिएपछि स्थानीयले पनि क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गरिरहेका छन् । क्वारेन्टाइनमा बसेकाहरूले ओढ्ने, ओछ्याउने, खाना र सरसफाइ सामग्रीहरूसम्मको व्यवस्था आफैंले गरेको स्थानीय भरत थापाले बताए । खानाको व्यवस्था गाउँपालिकाले र अन्य व्यवस्थापन स्वयं क्वारेन्टाइनमा बस्ने व्यक्तीले गरेकाले केही सहज भएको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । ‘दैनिक चामल मात्रै ७ क्विन्टल पाक्ने गरेको छ, स्थानीयले सहयोग नगरेको भए गाउँपालिकालाई धान्न हम्मे हुने थियो,’ उनले भने, ‘संख्या थपियो भने खाना खुवाउन पनि समस्या हुने चिन्ता छ ।’ क्वारेन्टाइनस्थल धेरै हुँदा खाना पकाउने मानिसको पनि अभाव हुन थालेको छ । २० जनासम्म रहेको क्वारेन्टाइनमा एक जना र २० भन्दा माथि भएकोमा दुई जना मानिस खाना पकाउन ज्यालादारीमा खटाइएका छन् । तर, संक्रमण फैलने डरले मानिसहरू क्वारेन्टाईनमा काम गर्नै नमान्ने गरेको उनले बताए ।

थलाराको जस्तो समस्या बझाङका अन्य पालिकामा पनि छ । हिमाली साइपाल बाहेक सबै पालिकामा ठूलो संख्यामा मानिस भित्रिरहेका छन् । ‘अब हामी धान्न नसक्ने अवस्थामा छौं,’ खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले भने, ‘२० जना क्षमता भएको स्कुलमा ५० ६० जना खाँद्नुपर्ने भएको छ । यसले त झन् रोग सर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ क्वारेन्टाईन भरिएपछि मानिसहरू आफ्नै तरिकाले घर बाहिर पाल टाँगेर वा खाली गोठमा समेत बस्न थालेको उनले बताए । 
क्वारेन्टाइन थपिएसँगै सुरक्षा दिन समेत समस्या परेको छ । ‘क्वारेन्टाइनको संख्या पहिला गाउँपालिकामा एक–दुई थियो । अहिले बढ्दै टोलसम्मै पुगिसकेको छ । सबै ठाउँमा सुरक्षा पोस्ट खडा गर्न सम्भव छैन,’ डीएसपी गणेश बमले भने ।बझाङमा जेठ १ देखि १६ सम्म बाहिरी जिल्ला र भारतबाट गरी ४ हजार जना भित्रिसकेका छन् । अझै दैनिक तीन–चार सयको हाराहारी मानिस आइरहेका छन् । ‘मानिसहरूको चाप थेग्न नसक्ने गरी बढेको छ’, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘मन्दिर, गोठ, सार्वजनिक भवन जहाँ हुन्छ व्यवस्थापन गर्न भनेको छु ।’

कञ्चनपुरको महाकाली नगरपालिकामा सार्वजनिक विद्यालयमा बनाइएका क्वारेन्टाइन भरिभराउ भएका छन् । निजी विद्यालयलाई पनि क्वारेन्टाइनका लागि प्रयोग गर्न थालिएको छ । हाल नगर क्षेत्रमा २२ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । एउटै कोठामा १० जनासम्म राखिएका छन् । ‘१४ दिन पुगिसकेकालाई परीक्षण गरेर घर पठाउन सके मात्रै अब आउनेलाई क्वारेन्टाइनमा राख्न सकिन्छ,’ महाकाली–६ का वडाध्यक्ष दिलबहादुर सिँजालीले भने, ‘व्यवस्थापन निकै जटिल बन्दै गएको छ ।। नगर क्षेत्रका १५ हजार व्यक्ति बाहिर भएकाले तिनको आधा मात्रै भित्रिए पनि अटाउन सकिने अवस्था नरहेको उनले बताए ।

सिँजालीका अनुसार नगरपालिका आफैंले क्वारेन्टाइनमा रहेकाको स्वाब संकलनका लागि भीटीएम समेत खरिद गरिसकेको छ । तर प्रादेशिक प्रयोगशाला धनगढीमा स्वाब बढी थुप्रिएकाले तत्काल संकलन नगर्न भनेपछि १४ दिन पुगेकालाई आरडीटी गरेर होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने तयारी गरिएको छ । नगरपालिकाले आरडीटी किट समेत खरिद गरिसकेको सिँजालीले बताए ।

जिल्लाकै लालझाडी गाउँपालिकामा १ सय ६३ बेड मात्रै छन् । बेलडाँडी गाउँपालिकामा पनि क्वारेन्टाइन भरिभराउ बनेका छन् । सबै वडामा रहेका सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । प्रशासनका अनुसार जिल्लाभरि ७ हजार जना क्वारेन्टाइनमा थिए । जबकि बेड संख्या ४ हजार ८ सय ७१ मात्रै छ । जेठ १२ देखि गड्डाचौकी नाकाबाट नेपाली भित्र्याउन सुरु भएपछि क्वारेन्टाइन भरिएका हुन् ।