सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त
९ प्रतिशत मात्रै विकास बजेट खर्च
2021/01/04, 10:37
 
bugdet

चालु आर्थिक वर्षको पाँच महिना बिते पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च न्यून छ । प्रदेश सरकारका अधिकांश योजनाहरु कार्यान्वयनमा जान नसक्दा बजेट खर्च पनि निकै कम देखिएको हो । यो अवधिमा चालु खर्चको तुलनामा पुँजीगत खर्च अझ कम छ ।
प्रदेश सरकारले पाँच महिनाको अवधिमा कुल बजेटको ८ दशमलव ७४ प्रतिशत मात्र खर्च गरेको छ ।

यस वर्ष विनियोजित कुल ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजारमध्ये मंसीर मसान्तसम्म सरकारले दुई अर्ब ९१ करोड ६८ लाख मात्र खर्च गर्न सकेको तथ्यांक छ ।  प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक हेर्दा पुँजीगत तर्फको १६ अर्ब ९४ करोड ८७ लाखमध्ये एक अर्ब ३० करोड १८ लाख (७ दशमलब ८६ प्रतिशत) र चालु तर्फ ९ दशमलव ८३ प्रतिशत बजेट खर्च भएको हो । प्रदेशमा सबैभन्दा बढी बजेट र योजना भौतिक पूर्वाधार विकास मन्त्रालयसँग रहेका छन् तर मन्त्रालयको खर्च पनि न्यून छ । ११ अर्ब ८९ करोड २० लाख बजेट रहेको यो मन्त्रालयले एक अर्ब १८ करोड ९२ लाख खर्च गरेको छ ।

छ अर्ब ६२ करोड ७२ लाख रुपैयाँ बजेट पाएको सामाजिक विकास मन्त्रालयले १० दशमलब ८० प्रतिशत र तीन अर्ब ३३ करोड ३६ लाख बजेट पाएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ दशमलब ४७ प्रतिशत बजेट मात्र खर्च गरेका छन् ।  अन्य मन्त्रालय र प्रदेश मातहतका निकायको खर्च पनि सन्तोषजनक छैन ।

प्रदेश सरकारले यस वर्ष बजेट खर्च ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ तर हालसम्मको प्रगति हेर्दा लक्ष्य पुरा हुन मुस्किल देखिएको छ । विगतका वर्षमा पनि सरकारले लक्ष्य अनुसार खर्च गर्न सकेको थिएन । हालसम्मको प्रगतिले यस वर्ष पनि पुँजीगत खर्च सबै नहुने स्पष्ट संकेत देखिएको छ । राज्य संयन्त्र सम्हालेका राजनीतिक नेतृत्व र कर्मचारीमा उत्तरदायित्वको कमीले पुँजीगत बजेट खर्च कम हुने प्रवृति दोहोरिने गरेको छ ।