सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या २५ पुग्यो, एक जनाको मृत्यु, ६ जना निको, १८ जनाको विभिन्न अस्पतालमा उपचार हुदै
2020/05/31, 2:06
 
sup

सुदुरपश्चिममा कोरोना संक्रमितहरुको संख्या २५ पुगेको छ । आज बाजुरामा एक बालिकाको कोरोनाको कारण मृत्यु भएको छ भने एक जना थप संक्रमित पुष्टि भएकी हुन । यो सँगै सुदुरपश्चिमका संक्रमित संख्या २५ पुगेको हो । उनीहरुमध्ये २२ जना प्रदेशभित्रै र तीन जना कर्णाली प्रदेशमा देखा परेका हुन् । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा १ घर भएकी २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएकोमा कोरोना पोजेटिभ देखाएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।
बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आईसोलेसनमा अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिकामा पखाला, ज्वरो, श्वास प्रश्वास समस्याबाट ग्रसित रहेकी थिईन । ८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालिका बिरामी भएपछि बिहीवार साँझ सदरमुकाम मार्तडीमा रहेको आईसोलेसनमा ल्याईएको थियो ।

कर्णाली प्रदेशमा पनि सुदुरपश्चिमका तीन जना संक्रमित भेटिएका छन । उनीहरु मध्ये एक जना निको भएर घर फर्किएका छन् भने दुई जनाको उपचार भईरहेको छ । सुदूरपश्चिम प्रदेशका दुई जना कोरोना संक्रमितको प्रदेश बाहिर उपचार भईरहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ र बाजुराका दुई संक्रमितको कर्णाली प्रदेशमा उपचार भईहेको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नेपालगञ्जको रुपडिया नाका हुँदै फर्किएका बझाङका एक जना पुरुषको सुर्खेत अस्पतालमा उपचार भईरहेको बताए ।

उनका अनुसार बाजुराका अर्का संक्रमित कालीकोटमा छन् । यस्तै  अछाम घर भएका ३२ वर्षीय पुरुष भने डिस्चार्ज भएका छन । बाँकेमा उपचाररत उनी १६ औँ दिनमा कोरोना जितेर शनिबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
यता सुदुरपश्चिमका संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको कार्कीले बताए । अहिले प्रदेशमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । ६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा, दार्चुला बाजुरा र बैतडी अस्पताल उपचार भईरहेको छ । दुई जनाको भने जिल्ला अस्पताल सुर्खेत र कालिकोटमा उपचार भईरहेको छ । 

कैलालीमा कोरोना संक्रमितहरुको संख्या १० पुगेको छ । त्यसमा ४ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ६ जना संक्रमितहरुको उपचार भईरहेको छ । संक्रमित मध्ये सवैभन्दा वढी १२ जनाको कैलालीमा उपचार भईरहेको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा ६÷६ जनाको उपचार भईरहेको छ । त्यसैगरी जिल्ला अस्पताल डडेल्धुरा जिल्ला अस्पताल वैतडी र जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल सुर्खेतमा एक एक जनाको उपचार भईरहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । ६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा, दार्चुला बैतडी र सुर्खेतका अस्पतालमा उपचार भईरहेको छ ।

जेठ १० गते कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको सेतीमा उपचार भईरहेको छ । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएपछि उनको पनि सेतीमै उपचार भईरहेको छ । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । जेठ १३ गते कोरोना पुष्टि भएकी अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकालाई पनि सेतीमै राखिएको छ । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन । उनका बुवामा जेठ ११ गते संक्रमण पुष्टि भएका ३२ बर्षीय पुरुष हुन् । 

कैलालीको टीकापुर अस्पतालमा पनि ६ जनाको उपचार भईरहेको छ । १३ गते कोरोना पुष्टि भएका कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष टीकापुर अस्पतालमा उपचार गराईरहेका छन् । आज मात्रै कोरोना संक्रमण लागेका कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष पनि टीकापुर अस्पतालमै उपचाररत छन् । कैलालीका नयाँ संक्रमित भारतबाट आएको खुलेको छ । कैलालीका दुई जना त्रिनगर र खक्रौला नाका भएर स्वदेश फर्किएका थिए । यसअघि कोरोना पुष्टि भएका जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि उनीहरुको टीकापुर अस्पतालमा उपचार भईरहेको छ ।

उनीहरु ईटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको पाईएको छ । वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै भारतको महाराष्ट्रबाट फर्किएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिईन् । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना ईटहरी र एक जना बाँकेबाट फर्किएको थाहा भएको उपाध्यक्ष महतोले बताईन् ।  ईटहरीबाट आएका युवक वैशाख ३० गते त्यहाँ पुगेका थिए । अर्का सक्रमित युवक जेठ ३ गते बाँकेबाट त्यहाँ पुगेका थिए । उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो । 

बैतडीको शिवनाथ गाउँपालिकाका पुरुषको जिल्ला अस्प्ताल बैतडीमा उपचार भईरहेको छ । बैतडीका संक्रमित संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडी भारतबाट फर्किएका थिए । उनलाई एक युवती हत्याको आरोपमा थुनामा राखिएको थियो । उनी चैत्र ६ गते भारतबाट आएका थिए । उनलाई एक युवतीको हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेको थियो । यस्तै डडेलधुरामा संक्रमण भेटिएका पुरुष भने सदरमुकाम स्थित एक सरकारी कार्यालयमा कार्यरत छन ।
हाल उनी सदरमुकाममै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । दार्चुलाका २१ बर्षीय संक्रमित पुरुषको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । उनी पनि धारचुला–दार्चुला नाकाबाट आएका थिए ।