बझाङमा कालो झण्डाको राजनीति
2021/01/13, 4:12
 
corona

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई बझाङका विभिन्न ठाउँमा कालो झन्डा देखाइएको छ । जिल्ला सदरमुकाम चैनपुरमा प्रधानमन्त्री केपी ओली समूहको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ आएका छन् ।

जिल्ला प्रवेशका क्रममा मन्त्री ठगुन्नालाई बित्थडिचर गाउँपालिको देउलेख, केदारस्युँ गाउँपालिको देउरा बजार र झोता बजार, दुर्गाथली गाउँपालिकाको झनाना बजार, छबिसपाथिभेरा गाउँपालिकाको भाँडेबजार र जयपृथ्वी नगरपालिकाको बाहुलीखोला पक्की पुल नजिक पुष्पकमल दाहाल–माधव नेपाल समूहको नेकपा कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

पार्टी दुई फ्याँक भएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गरेको हो । आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम आएका थिए । बझाङमा नेकपाका ओली र नेपाल–प्रचण्ड समूहले गुटगत कार्यक्रम गर्दै आएका छन् । मन्त्री आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।

नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले विरोध र कालो झन्डा देखाउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो । मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि नेपाल–प्रचण्ड समूहका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए ।