टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण
2021/01/17, 5:02
 
SAB

नागरिकस्तरबाट संकलन गरिएको सहयोगबाट टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले आज एक कार्यक्रमका बिच अस्पताललाई शव बाहन हस्तान्तरण गरेको हो । 

टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन ।

शव बाहनको चावी हस्तान्तरण गर्दै समूहका संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा समेत टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले शव बाहन खरिदका लागि अभियान थालेकोमा टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशनप्रति आभार व्यक्त गरे । उनले मानवीय सेवामा देखाएको सदासयताले थप जिम्मेवार बनाएको बताए ।

उनले अस्पताल सबैको सामुहिक प्रयासबाट सञ्चालन गर्ने आफ्नो उद्देश्य रहेको र यसका लागि हातेमालो गर्न आग्रह गरे । उनले स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औंल्याए ।