कैलालीमा निर्वाचनको तयारी सुरु, मतदानस्थल थपिदै, १५ गते नामावली प्रकाशन हुने
2021/01/21, 11:25
 
NN

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी ०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि कार्यालयले मतदानस्थल थप्ने, केन्द्र हेरफेर गर्ने र त्रुटि सच्याउने काम सुरु गरेको हो । जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले चार स्थानमा मतदानस्थल थप्नुपर्ने देखिएको बताए । ‘जिल्लाभर २३१ मतदानस्थल र ५३४ मतदान केन्द्र रहेका छन्,’ निर्वाचन अधिकारी भट्टले भने, ‘कैलालीको पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकाले चार मतदानस्थल थप्ने तयारी भईरहेको छ । त्यस्का लागि हामी फिल्डमा पनि पुगिसकेका छौ ।’

भट्टका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अध्यावधिक गर्ने तयारी पनि भईरहेको छ । त्यस्का लागि स्थानीय तहको केन्द्रमा रहेका वडा सचिवलाई सहायक नाम दर्ता अधिकारी तोकिएको भट्टले बताए । ‘माघ १५ गतेदेखि मतदाता नामावली प्रकाशन गर्ने तयारी छ,’ उनले भने, ‘त्यसपछि १ गतेसम्म त्रुटी सच्याउने र हटाउने काम गरिने छ ।’ मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनले बताए । आज पनि निर्वाचन कार्यालयले सर्वपक्षिय बैठक बोलाएको छ । २०७७ पुुस ५ गतेसम्म १८ वर्ष पूरा भएका नागरिहरुले मतदानमा सहभागि हुन पाउने कार्यालयले जनाएको छ ।