धनगढीमा हमाल परिवारले निशुल्क महाप्रस्थान यान सञ्चालन गर्ने
2021/01/21, 11:54
 
hh

धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आउने भएको छ । सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालको परिवारले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएको हो ।

मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस भन्नका लागि यान सञ्चालन गर्ने तयारी भएको हो । मृत्यु पछि पनि मानिसले सम्मानसहित जाने व्यवस्था मिलाउनका लागि निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने तयारी भएको हमालले बताए । उनका अनुसार महाप्रस्थान यान सञ्चालनको लागि ३० लाख लगानी लाग्ने देखिएको छ । 

यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए । साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था गरिने भएको छ ।  सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।

निशुल्क यान सञ्चालन गर्नका लागि सम्पर्क व्यक्तिका रुपमा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुलाई तोकिएको छ भने सञ्चालन खर्च हमाल परिवारले नै ब्यहोर्नेछ । हमालले भने, ‘केही समयपछि कुनै सघसंस्थाले निशुल्क रुपमा सञ्चालन गर्ने जिम्मा लिन्छु भनेपछि हामी हस्तान्तरण गर्नेछौ ।’ चालु आर्थिक वर्षभित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनको दावी छ ।