धनगढी– दीपायल द्रुतमार्ग कालोपत्रेका लागि ७५ करोडको टेण्डर गर्न सहमति
2021/01/25, 3:39
 
1

धनगढी– दीपायल द्रुतमार्ग अन्तरगतको २४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि झण्डै ७५ करोडको टेण्डर आह्वान गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । मन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाले धनगढीदेखि हाटखोलीसम्मको १४ किलोमिटर र दीपायलदेखि बाझमोडसम्म १० किलोटिमर सडक कालोपत्रे गर्ने टेण्डर आह्वान गर्न श्रोत सहमति प्रदान गरेको हो ।शाखा अधिकृत हुमलाल भट्टराईले ७४ करोड ९९ लाख ४० हजारसम्मको टेण्डर गर्न सहमति प्रदान गरिएको जानकारी दिए । 

मन्त्रालयले श्रोत सहमति दिएपछि अबको दुई साताभित्रै टेन्डर आह्वान हुने दावी गरिएको छ । धनगढी– दीपायल द्रुतमाग आयोजना कार्यालयका प्रमुख खगेन्द्र शाहीले दुई साताभित्रै टेन्डर आह्वान हुने जानकारी दिए । आर्थिक बर्ष २०६५/०६६ देखि चर्चामा रहेको उक्त सडक लामोसमयदेखि अलपत्र छ । सुरुमा खुटिया–दीपायल द्रुतमार्ग भनिएकोमा अहिले जिरो प्वाईन्ट धनगढी बनाईएको छ ।  धनगढीदेखि खुटियासम्म १० किलोमिटर सडक यसअघि पनि कालोपत्र गरिएको थियो ।

कालोपत्र गरेको वर्ष दिन नपुग्दै भत्केपछि सडक मर्मत हुन नसक्दा अलपत्र अवस्थामा रहेको छ । सडक निर्माणका लागि स्थानीयले पटकपटक आन्दोलन नै गरेका छन् भने सामाजिक सञ्चालमार्फत दबाव पनि दिदै आएका छन् । सडक कालोपत्रे गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत अभियान नै थालेका सञ्चारकर्मीसमेत रहेका धनगढीको मट्यारीका स्थानीय सन्जय पन्तले सडक कालोपत्रेका लागि टेण्डर आह्वान हुने भएपछि खुशी व्यक्त गरे ।