कारबाहीमा परेको म्यानपावर कम्पनीलाई मन्त्री गौरीशंकर चौधरीद्वारा फुकुवा
2021/01/25, 6:36
 
rajniti

कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता गर्ने एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई श्रममन्त्री गौरीशंकर चौधरीले कम्पनीमाथिको रोक्का खोलिदिएका छन् ।

वैदेशिक रोजागार विभागले गत मंसिर ८ गते अवैध अन्तर्वार्ता गरिरहेको अवस्थामा एसओएससहित ३ वटा म्यानपावर कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।

अवैधरुपमा अन्तर्वार्ता लिएको भन्दै विभागले छानबिन गर्न ती म्यानपावरको कारोबार ६ महिनाको लागि रोक्का गरेको थियो । कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रूपमै १ सय ७९ जना युवालाई लगेको थियो ।

तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो । साभार : कान्तिपुर दैनिक ।